खाँदबारीमा तीनपोखरी फुटबल कप सुरु, आठ क्लब सहभागी

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । आज (शनिबार) आयोजित कार्यक्रमबिच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले खाँदबारी नगरपालिकाभित्रका ११ वटै वडामा खेलमैदान विस्तार गरी व्यावसायिक खेल प्रवद्र्धनका लागि सहयोग गरिरहेको बताए ।

उद्घाटन समारोहका अवसरमा आयोजक तीनपोखरी क्लब र मकालु फ्रेन्डस क्लबबिच पहिलो खेल भएको थियो । खेलमा आयोजक तीनपोखरीविरुद्ध मकालु फ्रेन्डसले १ गोल गर्दै विजयी भएको थियो । 

यसैगरी, दोस्रो खेलमा सितलपाटी क्लब र नेपाल सशस्त्र प्रहरी पकली कोशी प्रदेशबिच भएको थियो । सितलपाटीले नेपाल सशस्त्र प्रहरी पकली कोशी प्रदेशलाई २ गोल गर्दै जित हासिल गरेको छ । 

प्रतियोगितामा आठ क्लबको सहभागिता छ । जसमा जिल्लाभित्रका आयोजक तीनपोखरी क्लबसहित खाँदबारी युथ क्लब, सेकाहा क्लब, मकालु फ्रेन्डस, सितलपाटी क्लब छन् । जिल्ला बाहिरबाट नेपाल सशस्त्र प्रहरी पकली कोशी प्रदेश, बेलका युथ क्लब उदयपुर र चुलाचुली स्र्पोटिङ क्लब दमक झापा रहेको छ ।

‘खेलकुद संस्कृति र पर्यटन, समृद्ध समाज हाम्रो अभियान’ भन्ने नारासहित माघे संक्रान्तिको अवसरमा प्रतियोगिता आयोजना गरिएको खेल संयोजक झलकलाल कुसुलेले बताए । 

प्रतियोगितामा खेलकुदका साथै रमाइलो मेला, स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न कलाकारहरूद्धारा साँस्कृतिक कार्यक्रम र हेलिकोप्टरबाट संखुवासभाको धार्मिक पर्यटकीयस्थल शिवधारा, सभापोखरी र पाथीभरा माताको दर्शन गर्ने कार्यक्रम तय भएको क्लबका अध्यक्ष मिनेश चापागाईले बताए । 

प्रतियोगिताको विजेताले नगद दुई लाख ५१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद एक लाख २१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

सुझावित समाचार