राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरेले रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारीमा जुटेका छन् । यसै क्षेत्रका बासिन्दा उनी आगामी फागुन २१ का लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् ।
मुलुक परिवर्तनका लागि वैकल्पिक शक्तिको आवश्यकतामा जोड दिँदै आएका घिमिरे उम्मेदवार बन्नका लागि विभिन्न क्षेत्रबाट सुझाव आएपछि चुनावी मैदानमा उत्रिने मनस्थितिमा पुगेका छन् ।
विगत एक दशकभन्दा पनि पहिलेदेखि वैकल्पिक राजनीति गर्दै सुधारका पक्षमा आवाज उठाउँदै आएका घिमिरेले मुलुकको समृद्धिका लागि नीतिगत रूपमै सुधार गर्नुपर्ने आवश्यकता देखिएकाले नीति निर्माणको तहमा उपस्थिति जनाउन उम्मेदवारी दिने सोच बनाएको बताएका छन् । अर्घाखाँचीको पाणिनीमा जन्मिएका घिमिरे बुटवल ११ का बासिन्दा हुन् । उनी राजनीतिकसँगै विभिन्न सामाजिक संघसंस्थाको अभियानमा जोडिएर समाज तथा मुलुकको परिवर्तनमा क्रियाशील रहेका छन् ।
अंग्रेजी विषयबाट स्नातक गरेका उनी प्रवासी नेपाली सेवा समिति साउदी अरेबियाका पूर्वमहासचिवसमेत हुन्। गैरआवासीय नेपाली संघ साउदी अरेबियाको संस्थापक अध्यक्षसमेत रहेका उनी स्वदेश फर्किएपछि बुटवल ११ का स्थानीय संस्थाहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम पनि गरेको अनुभव छ।
पाणिनी रुपन्देही सम्पर्क समाजको मानार्थ सदस्य, लाइन्स क्लब अफ बुटवल मुक्तिनाथको उपाध्यक्ष, गौतम बुद्ध मानव सेवा केन्द्रको सल्लाहकार रहेका घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय संगठन विभाग सदस्य तथा कपिलवस्तु प्रतिनिधिका रूपमा पार्टीमा क्रियाशील रहेका छन् ।
पार्टीलाई मजबुत बनाउन संगठन निर्माणमा विशेष दख्खल राख्दै पार्टीलाई स्थापित गर्न लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा संगठन निर्माणमा महत्वपूर्ण योगदान गर्नेहरूमा पार्टीभित्र घिमिरे पनि चर्चामा पर्दछन्।