बारा प्रहरीले लागुऔषध अफिमसहित पर्साका तीनजनालाई पकाउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार तीनजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका– ७ बस्ने ३८ वर्षीय निलेश पटेल कुर्मी, वीरगन्ज महानगरपालिका– ११ बस्ने अन्दाजी ३२ वर्षीय जौवाद अहमद र बिन्दवासनी गाउँपालिका– २ बस्ने ४८ वर्षीय शेषनाथ चौरसिया रहेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख तथा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए।
बाराको प्रसौनी गाउँपालिका– १, नकटुवास्थित पतञ्जली चोकमा बिआर ०१ सिएल ६०७९ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको पछाडिको सिटमाथि कालो प्लास्टिकको पोकामा बेरेर राखिएको अवस्थामा दुई किलो २४ ग्राम अफिम बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख तथा प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पक्राउ परेका तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ।