फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको दोस्रो दिन बिहीबार ओभरअलतर्फ स्वप्निल भट्टराई र सोहम अग्रवाल संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । उनीहरूले ३६ होलको समाप्तिपछि समान ६ ओभर १४२ स्कोर गरेका छन् । ९ ओभर १४५ स्कोरमा प्रकृत तामाङ तेस्रो स्थानमा रहे । रोयल नेपाल गल्फ क्लबमा चलिरहेको प्रतियोगिताको पुरुषतर्फ १७ देखि २१ वर्ष उमेर समूहमा स्वप्निलले प्रकृत तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन् ।
स्वप्निलले चौथो र सातौँ होलमा एक–एक सट बचाए । तर, दोस्रो, तेस्रो, पाँचौँ र नवौँ होलमा उनले बोगी सामना गर्दा फ्रन्ट नाइन २ ओभर ३६ स्कोर गरे । त्यसपछि ११औँ होलमा बोगी र १३औँ होलमा ट्रिपल बोगीको समाना गरेका स्वप्निलले तीनवटा बर्डीको साथमा ब्याक नाइन १ ओभर ३५ स्कोर गरे । प्रकृतले फ्रन्ट नाइन २ ओभर ३६ र ब्याक नाइनमा १ ओभर ३५ स्कोर गरेका थिए ।
समग्रमा १९ ओभर १५५ को स्कोरमा सत्यजोत राणा र सिद्धान्त सापकोटा संयुक्त रूपमा तेस्रो स्थानमा रहे । पुरुषतर्फको ११ देखि १६ वर्षको उमेर समूहमा सोहमले पहिलो दिनका लिडर रुबेन थापालाई ९ स्ट्रोकले पछि पारेका छन् । सोहमले समग्रमा ६ ओभर १४२ सहित शीर्ष स्थान रक्षा गरेका हुन् । उनले पहिलो होलमा बर्डी र चौथो होलमा इगल निकाली उत्कृष्ट सुरुवात गरे ।