नेपाल प्रहरी र न्यु डायमन्ड युथ स्पोर्टस् क्लब नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोली सहभागी राउन्ड रोबिन लिगमा बिहीबार लगातार दोस्रो जित निकाल्दै दुवै टोली एक खेलअघि नै अन्तिम दुईमा पुगेका हुन् । पुलिस र न्यु डायमन्डले आ–आफ्नो प्रतिद्वन्द्वीलाई समान ३–२ को सेटमा हराए । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो खेलमा प्रहरीले नेपाल आर्मीलाई २०–२५, २५–१९, २४–२६, २५–२० र १५–११ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।
विभागीय डर्बीमा पुलिसले अन्तिम दुई सेट हात पार्दै आर्मीलाई निराश बनाएको हो । चौथो सेटअघिसम्म आर्मीले २–१ को अग्रता लिएको थियो । चौथो सेटमा पराजित हुँदा पुलिस राउन्ड रोबिन लिगबाट बाहिरिने थियो । तर, महत्वपूर्ण चौथो सेटमा पुलिसले उत्कृष्ट पुनरागमन गरेको थियो । यस सेटमा पुलिसले आर्मीलाई २५–२० ले पाखा लगायो ।
उत्कृष्ट फर्ममा न्यु डायमन्ड
गत साता मात्र न्यु डायमन्डले नवौँ एनभिए महिला भलिबल च्याम्पियनसिप उपाधि जितेको थियो । एक साताभित्र न्यु डायमन्ड दोस्रो महŒवपूर्ण प्रतियोगिताको फाइनलमा पुगेको छ । न्यु डायमन्डले विभागीय टोली नेपाल एपिएफ क्लबलाई २५–१६, २५–२१, १९–२५, १९–२५ र १५–७ ले हराउँदै पुलिसविरुद्धको फाइनल भेट पक्का गरेको हो । आर्मी र एपिएफ लगातार हारासँगै उपाधि होडबाट बाहिरिए ।
न्यु डायमन्डले पहिलो दुई सेटमा उत्कृष्ट प्रदर्शन गरी २५–१६ र २५–२१ को अन्तरले हात पारेको थियो । तर, तेस्रो र चौथो सेटमा एपिएफको दमदार प्रदर्शनका अगाडि न्यु डायमन्डले खेल जित्न पाँच सेटको प्रतीक्षा गर्नुपर्यो । तेस्रो सेटमा एपिएफले २५–१९ र चौथो सेट २५–१९ को अन्तरमा जित्यो ।
पुलिस र न्यु डायमन्ड अपराजित
राउन्ड रोबिन लिगमा पुलिस र न्यु डायमन्ड अपराजित रहे । पुलिसले पहिलो खेलमा एपिएफलाई ३–० को सेटमा हराएको थियो । न्यु डायमन्डले आर्मीमाथि ३–० को जित निकालेको थियो । पहिलो खेलमा प्रहरीकी उषा भण्डारी र दोस्रोमा न्यु डायमन्डकी सलिना बुढामगर ‘लेयर अफ दी म्याच’ बन्दै समान १५ हजार रुपैयाँ पाए ।