नेप्से परिसूचक सामान्य अंकले बढेर साताको कारोबार बन्द भएको छ। बिहीबार नेप्से ४.५९ अंक (०.१७ प्रतिशत)ले बढेर दुई हजार ६४०.५४ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२० प्रतिशतले उकालो लागेको छ।
आज ३२८ कम्पनीका एक करोड चार लाख ३१ हजार कित्ता सेयर चार अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भयो। अघिल्लो दिन बजार घट्दा पाँच अर्ब १३ करोडबराबरको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ समूहमध्ये आज सात समूहको सूचक उकालो लागेको छ। बैंक, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा एक प्रतिशतभन्दा थोरैले वृद्धि भएका हुन्। घटेका समूहहरू पनि एक प्रतिशतभन्दा कमले ओरालो लागेका छन्।
बिहीबार सान्वी इनर्जीको सेयर मूल्यमा सर्वाधिक वृद्धि देखिएको छ। उक्त कम्पनीका लगानीकर्ताले आठ प्रतिशतभन्दा धेरै आर्जन गर्दा एसवाई प्यानल पाँच प्रतिशतभन्दा धेरैले बढेको छ। तर, सर्वाधिक गुमाएको सुपर मादी हाइड्रोपावरमा करिब चार प्रतिशतको गिरावट भएको छ।