केही वर्षअघिसम्म तामाकोशी नदीको असला माछा आफूले टन्न खाएर आफन्तलाई कोसेलीसमेत पठाउने चलन पछिल्ला केही वर्षयता ठप्प भएको छ। नदीमा माछा भेटिन छाेडेसँगै कोसेली त परै जाओस् नदीआसपासका व्यक्तिले खानसमेत पाउन छाडेका छन्। विगत केही वर्षअघिसम्म स्थानीय माझी समुदायले तामाकोशी नदीमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । तर, पछिल्ला केही वर्षयता नदीमा विष र करेन्ट प्रयोग गरेर रातदिन माछा मार्न थालेपछि तामाकोशीमा असला माछा मासिँदै गएका हुन् ।
यसरी नदीमा विषादी र करेन्ट लगाउने गर्दा माछासहित अन्य जलचर प्राणीसमेत नष्ट हुने गरेका छन्। अहिले नदीकिनारका नागरिकहरूले पनि तराईका विभिन्न जिल्लाहरूबाट आयातित माछाको भर पर्नुपर्ने बाध्यता रहेको छ । दुई–तीन वर्षअघिसम्म तामाकोशी नदीमा असला माछा प्रसस्तै मात्रामा भेटिने गर्दथे । यसबाहेक नदीमा कत्ले, कटहरे, गोना, सारंगी, सहर र गोचलगायत विभिन्न प्रजातिका माछाहरू पाइने गर्दथे।
तर, पछिल्लो समय जताततै नदीमा ठुलाठुला डोजर लगाएर उत्खनन गर्ने, नदीको छेउछाउमा भूमिगत इनार निर्माण गर्ने र नदीको धार नै परिवर्तन गरी क्रसर उद्योगहरूले नदी उत्खनन गर्दा नदीमा भएका माछा मासिँदै गएको मन्थली नगरपालिका– १ की मञ्जु माझीले बताइन्। यसबाहेक नदीमा लुकिछिपी करेन्ट लगाउने र विषादी प्रयोग गरेर माछा मार्ने क्रम बढेसँगै नदीमा माछा देखिन छाडेका हुन् । नदीमा करेन्ट लगाएर माछा मार्दा रामेछापमा बर्सेनि एक–दुईजनाले ज्यान गुमाउँदै आएका छन् । यसबाहेक प्रत्येक वर्ष प्रहरीले दर्जनौँ व्यक्तिलाई करेन्टसहित पक्राउसमेत गर्दै आएको छ। तैपनि नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम रोकिन भने सकेको छैन।
नदीमा माछाबाहेक अन्य लाखौँ जलचर प्राणीहरूसमेत करेन्टबाट मर्ने गरेका छन्। स्थानीय केही अगुवाहरूले नदीमा करेन्ट र विषादी प्रयोग गर्नेहरूको निगरानी राखे पनि उनीहरूको आँखा छल्दै रातको समयमा नदीमा करेन्ट लगाउने गरेको मन्थली नगरपालिका– १, हाटेचौरका गोरे माझीले जानकारी दिए । उनले भने, ‘नदीमा करेन्ट र विषादी प्रयोग गर्नुहुँदैन भनेर आफ्नो बस्तीआसपासका नागरिकहरूलाई सचेत त गराएका छौँ । तर, हाम्रो मात्रको यो अभियानले नदीमा करेन्ट रोक्न सकेनौँ ।’
स्थानीय वडा, नगरपालिका र प्रहरी–प्रशासनले समेत साथ नदिँदा अभियान सफल हुन नसकेको माझीले बताए । केही समय अघिसम्म माझी समुदायको प्रमुख पेसा नै माछा मार्ने थियो । पछिल्लो समय माझी समुदायले पनि यो पेसालाई छोड्दै आएको स्थानीय रवि माझीले जानकारी दिए । उनले भने, ‘पहिले–पहिले जाल खेल्दै जाँदा पाँच–छ पटकमा फुर्लुङ भरिने गर्थ्यो। यहाँका स्थानीय माझी समुदायले आलो माछा र सुकुटी बनाएरसमेत आफूले खाएर बढी भएको माछा बजारसम्म लगेर बेच्ने गर्दथे। तर, अहिले दिनभर कोशीमा जाल हान्दा एकछाक खान पुग्ने माछा पाउनसमेत मुस्किल हुन थालेपछि माछा मारेर जीविकोपार्जन गर्नेहरू पनि यो पेसा छाडेर अन्यत्र पेसामा लागेको बताए ।
करेन्ट लगाएर माछा मार्नु गैरकानुनी कार्य हो। करेन्ट प्रयोग गरी कुनै जलचर समात्न तथा मार्न झन्डै अढाई दशकअघि नै प्रतिबन्ध लगाइएको छ। २०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गरी जलचर प्राणी मारेमा त्यस्तो व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर, त्यसको कार्यान्वयन भने पूर्ण रूपमा हुन नसकेको स्थानीय अगुवा रामचन्द्र शर्माले जानकारी दिए ।