कांग्रेस संस्थापनले भन्यो– विशेष महाधिवेशन विधानविपरीत छ, कोही सहभागी नहुनू

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

कांग्रेस संस्थापन पक्षले पार्टी नियमित महाधिवेशनको कार्यतालिकामा अघि बढेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको र आह्वान गर्नु विधानविपरीत भएको टिप्पणी गरेको छ । बुधबार केन्द्रीय कार्यालयबाट जारी दुई पृष्ठ लामो प्रेस विज्ञप्तिमा विशेष महाधिवेशन आह्वान गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन/महाधिवेशनको प्रक्रिया र कार्यक्रमहरू सञ्चालन भइरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा छ । 

विशेष महाधिवेशनको मागसहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरअनुसार पार्टी विधानको धारा १७ (२) अनुसार बोलाउनुपर्ने अनिवार्य व्यवस्थाबारे भने संस्थापन पक्ष बोलेको छैन । संस्थापनले पार्टी विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको उल्लेख गरेको छ ।

‘तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ संस्थापनले भनेको छ ।

कांग्रेसले १५ मंसिरमा केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधानबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिसकेको पनि उल्लेख गरेको छ ।

सुझावित समाचार