जेन–जी आन्दोलनको असर : १७२ मिसिल जले, तीन करोडको क्षति

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको जिल्ला अदालत सिराहामा पुनः सेवाग्राहीको चाप बढ्न थालेको छ । न्यायिक प्रक्रियाका निम्ति अदालत आउने सेवाग्राहीको भिड जिल्ला अदालतमा देखिएको छ । गत भदौ २४ मा जिल्ला अदालत सिराहामा आगजनी गरिएकाे थियो ।

आन्दोलनको नाउँमा केही युवाले जिल्ला अदालत सिराहाको अभिलेख फाँट, प्रविधिकक्षलगायतमा आगजनी र तोडफोड गरेका थिए । आगजनीबाट जिल्ला अदालतमा करिब तीन करोडको क्षति भएको सूचना अधिकारी राधेश्याम यादवले नयाँ पत्रिकालाई बताएका छन् ।

आगजनीबाट चालू मुद्दाको १३ (फौजदारी दुई र देवानी प्रकृतिका ११ ) मिसिल पूर्ण रूपमा जलेका छन् । फैसला भई अभिलेख शाखामा बुझाउन बाँकी रहेका मिसिलहरू जलेर पूर्ण रूपमा नष्ट भएका मुद्दाहरू ६६ वटा रहेका छन् । जसमा २९ वटा फाैजदारी प्रकृतिका मुद्दाका मिसिल रहेको सूचना अधिकारी यादवले बताए ।

फैसला भई पूर्ण पाठ तयार हुन बाँकी रहेका र जलेका मुद्दाहरू ८८ वटा रहेका छन् । जसमा फौजदारी मुद्दाको १५ वटा मिसिल रहेको जिल्ला अदालतको तथ्यांक छ । १७२ मिसिल जलेर नष्ट भएको भन्दै सूचना अधिकारी यादवले भने, ‘कति अभिलेख जलेर नष्ट भएका छन्, त्यसको विवरण संकलन अझै जारी छ ।’ 
 

सुझावित समाचार