न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र साबिक विजेता नेपाल प्रहरी नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा सातौँ संस्करणको विजेता न्यु डायमन्डले नेपाल आर्मीलाई २५–१६, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गर्यो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठान बालकोटको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रहरीले सुरुका ६ संस्करणको विजेता नेपाल एपिएफ क्लबलाई २५–२२, २५–२० र २५–२१ ले निराश बनाएको छ ।
पहिलो खेलमा न्यु डायमन्डकी सुमित्रा रेग्मी र दोस्रो खेलमा प्रहरीकी पुनम चन्दले प्लेयर अफ म्याच हुँदै जनही १५ हजार रुपैयाँ पाए । यसैबिच न्यु डायमन्डकी सुमित्रा रेग्मीलाई प्रतिष्ठानले ५० हजारसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरेको छ । बिहीबार पहिलो खेलमा नेपाल पुलिसले आर्मीको सामना गर्नेछ । दोस्रो खेल न्यु डायमन्ड र एपिएफबिच हुने हुनेछ ।
राउन्ड रोबिन लिगका आधारमा शनिबारसम्म चल्ने प्रतियोगितामा चार टोली मात्र सहभागी छन् । राउन्ड रोबिन लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबिच उपाधि भिडन्त हुनेछ । बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । विधागततर्फ सात उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रत्येक खेलका प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ पाउनेछन् ।