लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउन नसक्दा फाइदा लिन सकेनौँ : व्यवसायी

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

लुम्बिनी र आसपासका पर्यटन व्यवसायीहरूले यस क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउन नसक्दा फाइदा लिन नसकेको बताएका छन् । होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको १२औँ साधारणसभा तथा ७औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापनका लागि भैरहवामा आयोजित कार्यक्रममा सहभागी व्यवसायीले पर्यटकको बसाइ लम्ब्याउन नसक्दा प्रतिफल लिन नसकेको बताएका हुन्। 

कार्यक्रममा सहभागी व्यवसायीहरूले लुम्बिनी, भैरहवा र बुटवललगायतका क्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यस्थल भए पनि पर्यटनबाट फाइदा लिन नसकेको बताए। पर्यटन व्यवसायीहरू एकजुट नहुँदा व्यापार गर्न नसकेको उनीहरूको भनाइ थियो । संगठनका नवनिर्वाचित अध्यक्ष तथा पर्यटन व्यवसायी राजेश महोत्राले आ–आफ्नो व्यापार हेर्ने, तर समूहगत रूपमा सबैलाई फाइदा हुने खालका प्याकेजका कार्यक्रम ल्याउन नसक्दा घाटा भइरहेको बताए । उनले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सरोकारवाला सबै निकाय एउटै स्थलमा एकताबद्ध हुँदै पर्यटन विकासका सम्भावनाको खोजी र चुनौतीलाई केलाउनुपर्ने जोड दिए।

पर्यटन प्रवर्द्धनका लागि सबै व्यवसायी र सरोकार राख्ने संघसंस्था तथा सरकारी निकायसँग समन्वय गरी लुम्बिनी क्षेत्रलाई ‘पर्यटन मैत्री सहर’ बनाउन जोड दिए। लुम्बिनी होटेल संघ नेपालका अध्यक्ष लीलामणि शर्माले लुम्बिनी र आसपासका पर्यटन क्षेत्रमा अर्बौं रुपैयाँ लगानी भए पनि पर्यटनको मुख्य धरातल के हो? भन्नेबारेमा विश्लेषण गरी ठोस कदम चाल्न नसक्दा पर्यटन व्यवसाय फस्टाउन नसकेको बताए। 

रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले पर्यटन व्यवसाय फस्टाउने नाममा कस्तो पर्यटकलाई प्राथमिकता दिने? भन्ने प्रश्नको उत्तर पनि महत्त्वपूर्ण रहेको बताए। 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएन भनेर मात्र भनिरहनुभन्दा भारतीय पर्यटकलाई सहज रूपमा भित्र्याउन पहलकदमी गर्न आवश्यक रहेको बताए। 

सिद्धार्थ होटेल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भारतीय पर्यटकले २५ हजार रुपैयाँसम्म लिएर नेपाल आउन पाउने नियमले नेपालको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पारेको बताए। नेपाल चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष सचिन रोक्काले सडक खाना महोत्सवलगायतका कार्यक्रममा ठुला र गुणस्तरीय होटेलकै सहभागिता नहुने गरेको गुनासो गरे।

संगठनका निवर्तमान अध्यक्ष रामप्रसाद पोखरेलले १५ वर्षअघि ४५–५० जना होटेल तथा रेस्टुरेन्ट व्यवसायी मिलेर खोलेको यो संगठन अहिले रुपन्देहीका ६ वटा पालिकामा विस्तार भई ६ सयजना आबद्ध रहेको बताए। 
 

सुझावित समाचार