सात महादेशमा सातदिन लगातार सञ्चालन हुने ‘वर्ल्ड म्याराथन च्यालेन्ज’मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन्। ३१ जनवरी २०२६ मा अन्टार्टिकाबाट सुरु भएर ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा सम्पन्न हुने सातदिने ‘वर्ल्ड म्याराथन च्यालेन्ज’मा सहभागी हुने जोशी एक्लो नेपाली हुन्।
जोशी २६.२ माइल (४२.१९ किलोमिटर) दूरी रहने फूल म्याराथनका सातवटा सिरिजमा २९४ किमि दूरी सात दिनमा दौडिनेछन्। उनी नेपाली पोशाक दौरा सुरुवालमा दौडिनेछन्। २०१५ बाट सुरु भएको यो म्याराथनमा नेपाली पोसाकमा दौडिने जोशी पहिलो नेपाली हुनेछन्।
यसपटकको म्याराथनमा ३० भन्दा बढी देशका ५४ धावक सहभागी हुनेछन्। म्याराथनमा सहभागी हुन सम्पूर्ण धावकहरू २८ जनवरीमा अफ्रिकाको केप टाउन पुग्नेछन्। आयोजकले उनीहरूलाई त्यहाँबाट ३० जनवरीमा चार्टर गरिएको बिमानमा अन्टार्टिका पुर्याउनेछ।
३१ जनवरीमा अन्टार्टिकाबाट सुरु हुने म्याराथन दोस्रो दिन १ फेब्रुअरीमा अफ्रिकाको केपटाउनमा सञ्चालन हुने छ। त्यस्तै, तेस्रो म्याराथन २ फेब्रुअरीमा अस्ट्रेलियाको पर्थमा, चौथो म्याराथन ३ फेब्रुअरीमा एसियाको दुबई, पाँचौँ म्याराथन ४ फेब्रुअरीमा स्पेनको म्याड्रिड, छैटाैँ म्याराथन ५ फेब्रुअरीमा ब्राजिल र सातौँ तथा अन्तिम म्याराथन ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा हुनेछ।
धावकहरू अन्टार्टिकाको माईनस २० डिग्री सेल्सियस तापक्रमदेखि दुबईको २५ डिग्री सेल्सियसमा दौडिनेछन्।
संसारका विभिन्न देशमा झन्डै दुई दर्जनभन्दा बढी म्याराथनमा सहभागी भएका जोशीले चार वर्षयता स्पोन्सरहरूबाट प्राप्त गरेको दुई लाख डलरभन्दा बढी रकम वान स्टेप फाउन्डेसनमार्फत नेपाल, अमेरिका र अफ्रिकामा बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद र जेष्ठ नागरिकहरूको भोजनका लागि सहयोग गरेका छन्।
सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन्। टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेसाले बैंकर हुन्।