लहान नगरपालिकाले दुई सातामा वितरण गर्‍यो ७०० वृद्धवृद्धा र विपन्नलाई सिरक

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिकाले दुई सातामा नगरक्षेत्रका ७०० जना वृद्धवृद्धा र असहायलाई फाइबरको सिरक वितरण गरेको छ । केही दिनयता बढेको चिसो र शीतलहरले वृद्धवृद्धा, असहायहरू धेरै नै प्रभावित भएपछि नगरपालिकाले सिरक वितरण गरेको हो ।

 नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले बुधबार लहान–७ का १२ र ८ नम्बर वडा क्षेत्रका दलित समुदायका २५ जना वृद्धवृद्धा, असहायहरुलाई फाइबरको न्यानो सिरक वितरण गरेका छन् । ‘बढ्दो चिसो र शीतलहरले प्रायः मजदुरी गरेर खाने दलित समुदायका वृद्धवृद्धा र असहाय बढी प्रभावित छन्,’ उनले भने ‘सम्बन्धित परिवारले चाहेर पनि अतिरिक्त रकम खर्चिएर वृद्धवृद्धालाई न्यानो कपडा दिन नसक्ने भएकाले पालिकाले उपलब्ध गराएको हो ।’

पछिल्लो दुई सातादेखि फाट्टफुट्ट घाम लागे पनि प्रायः बिहानदेखि लाग्ने बाक्लो हुस्सु र चिसो हावासँगै बढेको जाडोले विशेष गरी गरिब विपन्न समुदाय प्रभावित बनेका छन् । यसबिचमा नगरपालिकाले लहान–१२ भोटियाटोल, वडा नम्बर १५ को ढोढना बानो, १६ को तरेगना गोविन्दपुर, १७ को बलानसेर, १८ को शोभापुर, २१ को माधोपुर, २३ को गढिया र वडा नम्बरको २४ गोविन्दपुर खप्टे डाँडाका करिब सात सयजनालाई एक÷एक वटा फाइवरको सिरक बाँडेको प्रमुख चौधरीले बताए । उनका अनुसार पुस महिनाभर आवश्यकताअनुसार थप ३०० थान सिरक बाँडिँदैछ ।

न्यानो सिरक पाएपछि लहान–८ की ८० वर्षीया कुसमीदेवी पासवानले नगर प्रमुखले वृद्धवृद्धाको ज्यान बचाउन सहयोग गरेको बताइन । लहान–७ की करिब ६५ वर्षीया पलहसियादेवी सदायले गरिब विपन्न परिवारका वृद्धवृद्धालाई नगरपालिकाले दिएको न्यानो सिरकले ठूलो राहत महशुस भएको बताइन् । 

गर्भवती र सुत्केरीलाई छुट्टै पोषण प्याकेज
नगरपालिकाले विशेष शारीरिक अवस्था मानिने गर्भवती तथा सुत्केरीहरूलाई कुपोषणबाट जोगाउन पोषण प्याकेज अभियान समेत चालइरहेको छ । लहान नगरपालिका–२३ गाढाका १०५ जना गर्भवती तथा सुत्केरीलाई मंगलबार पोषण प्याकेजअन्तर्गत चामल, दाल, चना, मटर, नुन, तेललगायतका खाद्य सामाग्री वितरण गरिएको हो । 

सम्बन्धित वडामा रहेको स्वास्थ्य चौकीमा नियमित गर्भजाँच गराएका गर्भवतीको नामावलीको आधारमा वडासँग समन्यव गरी हरेक महिनाको २२ गते पोषण प्याकेज वितरण गर्दै आएको नगर प्रमुख चौधरीले बताए । 
 

सुझावित समाचार