प्रतिनिधिसभा निर्वाचनमा एमाले रामेछापले गर्‍याे आठजनाको नाम सिफारिस

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने इच्छा राख्ने आठजना उम्मेदवारको नाम नेकपा एमाले रामेछापले केन्द्रमा सिफारिस गरेको छ । 

उम्मेदवारको सिफारिसका लागि पार्टी कार्यालयमा मंगलबार बसेको एमाले रामेछापको बैठकमा आठजना उम्मेदवारले आफ्नो उम्मेदवारी रहने भन्दै छोड्न नमानेपछि आठजनाकै नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउने निर्णय गरेको नेकपा एमाले रामेछापका प्रचार तथा प्रकाशन विभागका प्रमुख राकेश श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि माधवप्रसाद ढुंगेल, कैलाशप्रसाद ढुंगेल, कमलप्रसाद चौलागाईं, रत्न गौतम, शान्तिप्रसाद पौडेल, परशुराम बस्नेत, केशरबहादुर बुढाथोकी र गीता कार्कीको नाम सिफारिस गरेको हो । त्यस्तै, सोही बैठकले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी यही पुस २५ गतेदेखि माघ ३ गतेसम्म विशेष निर्वाचनकेन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 
    

See More On

सुझावित समाचार