राष्ट्रिय महिला भलिबलको तयारी पूरा

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान बालकोटको आयोजनामा हुने नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबारदेखि हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका छन् ।

सातौँ संस्करणको विजेता न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले त्रिभुवन आर्मीको सामना गर्नेछ । दोस्रो खेलमा साबिक विजेता नेपाल पुलिसले नेपाल एपिएफ क्लबविरुद्ध खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा चार टोली मात्र सहभागी छन् ।

राउन्ड रोविन लिगमा शीर्ष दुई स्थानमा रहने टिमले पुन: उपाधिका लागि खेल्नेछन् । विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउने खड्काले बताए । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार प्रदान गरिनेछ ।

विधागततर्फ सात उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको उद्घाटनमा एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजारसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरिनेछ । 

सुझावित समाचार