टिकटकसहित चार कम्पनीले तिरेनन् भ्याट

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण
  • सञ्चार मन्त्रालयमा सूचीकरणका लागि अग्रसरता देखाएको टिकटकले यो वर्ष ठुला करदाता कार्यालयसँग सम्पर्कसम्म राखेको छैन

चालू आर्थिक वर्षको ६ महिना पूरा हुन अब केही दिन मात्रै बाँकी छ । तर, चार ठुला बहुराष्ट्रिय प्रविधि कम्पनीहरूले नेपालमा सेवा सञ्चालन गरेबापत मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेको पाइएको छ । ठुला करदाता कार्यालयको २० पुससम्मको तथ्यांकअनुसार टिकटक, गुगल आयरल्यान्ड, इबिएससिओ इन्टरनेसनल इंक र फ्ल्यास टपअप एलएलसीले भ्याट नतिरेका हुन् । इबिएससिओ इन्टरनेसनल र फ्ल्यास टपअपले त विद्युतीय सेवा कर (डिएसटी)मा दर्ता भएदेखि नै बुझाएका छैनन् । जबकी हरेक महिनाको २५ गतेभित्र भ्याट तिर्नुपर्ने व्यवस्था छ । 

कानुनत: वार्षिक ३० लाखभन्दा बढीको कारोबार गर्ने यस्ता कम्पनीहरूलाई १३ प्रतिशत भ्याट र २ प्रतिशत डिएसटी लाग्छ । हरेक महिनाको २५ गतेभित्र भ्याट र विद्युतीय सेवा कर (डिएसटी) नबुझाए प्रतिदिन ०.५ प्रतिशत वा प्रतिकरअवधि एक हजार रुपैयाँमध्ये जुन बढी हुन्छ त्यति जरिवाना लाग्ने व्यवस्था छ ।

यी कम्पनीहरू सम्पर्कमै नआएको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक दिलीप गौतमले बताए । ‘डिएसटीमा दर्ता भएर पनि जसले समयमा भ्याट र डिएसटी बुझाउनु भएको छैन, हामीले सम्पर्क गर्ने प्रयास गरेका छौं । तर, सम्पर्क हुन सकिरहेको  छैन । टिकटकले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा सम्पर्क राखेको बुझिएको छ । त्यसैले भ्याट दाखिलाका लागि सञ्चार मन्त्रालयमार्फत नै ताकेता गराउने प्रयासमा छौं ।’ 

टिकटकले डिएसटी लागू भएयता ०७९/८० देखि गत आर्थिक वर्षसम्म एक करोड ३४ लाख ७७ हजार भ्याट र २६ लाख ६२ हजार डिएसटी गरी एक करोड ६१ लाख ३९ हजार तिरेको थियो । तर, इबिएसीओ इन्टरनेसनल इंक र फ्ल्यास टपअप एलएलसी त डिएसटीमा दर्ता भययता नै कर कार्यालयको सम्पर्कमै छैनन् । 

त्यस्तै, चालू आर्थिक वर्षमा अहिलेसम्म भ्याट र डिएसटी नबुझाएको गुगल आयरल्याण्डले पनि विगतमा कूल ८२ लाख ८६ हजार बुझाएको ठूला करदाता कार्यालयको तथ्यांकमा उल्लेख छ । गत आवमा दुई लाख ६३ हजार भ्याट तिरेको यो कम्पनीले डिएसटी तिरेको भने प्रणालीमा नदेखिाउको कार्यालयले जनाएको छ । यो कम्पनीले ०८०/८१ मा ४५ लाख ७८ हजार भ्याट र ६ लाख ५७ हजार डिएसटी तिरेको थियो । त्यस्तै, ०७९/८० मा २३ लाख ११ हजार भ्याट र तीन लाख ९७ हजार डिएसटी तिरेको थियो । 

यद्यपि गुगलको आधिकारिक करदाताको रुपमा दर्ता भएका दुई कम्पनी गुगल एसिया प्यासिफिक र गुगल डिजिटल टकले भने नियमित कर दाखिला गरेको तथ्यांकले देखाएको छ ।०७९/८० मा गुगल एसिया प्यासिफिकले दुई करोड ३४ लाख, ०८०/८१ मा पाँच करोड १५ लाख, ०८१/८२ मा ८ करोड २७ लाख र आव ०८२/८३ को २० पुससम्ममा चार करोड २४ लाख भ्याट दाखिला गरेको छ । त्यस्तै, डिएसटीतर्फ ०७९/८० मा ३५ लाख ९२ हजार, ०८०/८१ मा ८३ लाख ३३ हजार, ०८१/८२ मा एक करोड २९ लाख दाखिला गरेको छ । त्यस्तै, गत आर्थिक वर्षदेखि दर्ता भएको गुगल डिजिटल इंकले ७२ लाख ९४ हजार भ्याट तिरेको थियो भने चालु आवको २० पुससम्म ५५ लाख १२ हजारको भ्याट दाखिला गरेको छ । त्यस्तै, उसले गत आवमा डिएसटीबापत १२ लाख एक हजार तिरेको कार्यालयको तथ्यांकले देखाएको छ ।

मासिक भ्याट विवरणसहित कारोबारका आधारमा भ्याट तिर्नुपर्ने व्यवस्था भएपनि सम्पर्कमा नआएकासँग जरिवाना र ब्याजसहित असुल्ने प्रक्रिया अघि बढाउने तयारी गरेको ठूला करदाता कार्यालयले जनाएको छ । डिएसटीमा हालसम्म २१ कम्पनी दर्ता भएका छन् 

साढे तीन वर्षमा २१ कम्पनीबाट उठ्यो एक अर्ब १७ करोड कर
नेपालमा सेवा प्रदान गरेबापत लाग्ने विद्युतीय सेवा कर (डिएसटी) र मूल्य अभिवृद्धिकर (भ्याट) बापत २१ बहुराष्ट्रिय प्रविधि कम्पनीबाट सरकारले हालसम्म एक अर्ब १७ करोड ६० लाख रूपैयाँ कर उठाएको छ । ०७९/८० देखि लागू भएको डिएसटीमा २१ कम्पनीहरू दर्ता छन् । तथ्यांकअनुसार सुरुवातदेखि चालु आवको २० पुससम्म एक अर्ब पाँच करोड भ्याट संकलन भएको छ भने डिएसटीबापत ११ करोड ९३ लाख उठेको छ ।  

डिजिटल विज्ञापन, स्ट्रिमिङ, क्लाउड सेवा र अनलाइन शिक्षाको बढ्दो प्रयोगसँगै आगामी वर्षहरूमा यस्ता कर संकलन अझै बढ्ने अनुमान गरिएको छ । तथ्यांकअनुसार मेटा प्लेटफम्र्स आयरल्यान्ड लिमिटेड (फेसबुक, इन्स्टाग्राम) ले सबैभन्दा धेरै भ्याट तिरेको छ । मेटाबाट मात्रै हालसम्म ४३ करोड ६८ लाखभन्दा बढी भ्याट संकलन भएको छ । साथै, मेटाबाट ५ करोड ८६ लाखभन्दा बढी विद्युतीय सेवा कर पनि उठेको छ । यसरी मेटाबाट कुल ४९ करोड ५४ लाख राजश्व संकलन भएको छ । त्यस्तै, डिएसटी नतिर्ने कम्पनीलाई भने प्रतिवर्ष कारोबार रकमको ०.१ प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ । 

नेटफ्लिक्स, अमेजन र माइक्रोसफ्टबाट पनि उल्लेख्य योगदान
अनलाइन स्ट्रिमिङ सेवा प्रदायक नेटफ्लिक्सबाट हालसम्म ४ करोड ४९ लाख भ्याट र ५२ लाखभन्दा धेरै डिएसटी संकलन भएको छ । उसले कूल ५ करोड २ लाख राजश्व बुझाएको छ । 

त्यस्तै, एसिसिएबाट ६ करोड २५ लाख, अमेजन वेब सर्भिसेजबाट ३ करोड ७९ लाख र माइक्रोसफ्ट रिजनल सेल्सबाट ६९ लाख ४५ हजार राजश्व उठेको छ । प्रोमेट्रिक जापान कम्पनी, एनसीएस पियरसन, पियरसन एजुकेसन लिमिटेडजस्ता संस्थाहरूबाट पनि करोडौं भ्याट तथा सेवा कर संकलन भएको छ ।

प्रविधि कम्पनीहरूबाट उठ्ने भ्याट संकलनमा वृद्धि
सरकारले बहुराष्ट्रिय प्रविधि कम्पनीहरूलाई भ्याटको दायरामा ल्याएयता भ्याट संकलनमा पनि वर्षेनी वृद्धि भइरहेको तथ्यांकले देखाउँछ । यी कम्पनीहरूलाई भ्याट लागू गरेको पहिलो वर्ष ०७९/८० मा सात कम्पनी मात्रै भ्याटको दायरामा आएका थिए । त्यस वर्ष गुगल एसिया प्यासिफिक, एनसीएस पियरसन इंक, अमेजन वेब सर्भिसेज इंक, गुगल आयरल्यान्ड लिमिटेड, लिंक्डइन सिंगापुर र अमेजन कम सर्भिसेज एलएलसी भ्याटमा दर्ता भएका थिए । यी कम्पनीहरूले त्यतिबेलामा ९ करोड १७ लाख भ्याट तिरेका थिए । 

दोस्रो आर्थिक वर्ष ०८०/८१ मा मेटा प्लेटफर्म आयरल्यान्ड लिमिटेड, एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स), प्रोमेट्रिक जापान कम्पनी, नेटफ्लिक्स, एप्पल डिस्ट्रिब्युसन इन्टरनेसनल लिमिटेड, टिकटक, माइक्रोसफ्ट रिजनल सेल्स, जोहो कर्पोरेसन र एडोब सिस्टम्स सफ्टवेयर आयरल्यान्ड लिमिटेड पनि जोडिए । भ्याटमा यी कम्पनीहरू थपिएसँगै भ्याट संकलन बढेर ३५ करोड ८५ लाख पुगेको थियो । 

त्यस्तै, तेस्रो, आर्थिक वर्ष ०८१/८२ मा एप्पल सर्भिसेज, गुगल डिजिटल इंक र पियर्सन एजुकेसन लिमिटेड पनि भ्याटको दायरामा आए । सो वर्ष भ्याट संकलन बढेर ३९ करोड ६६ लाख पुग्यो । इबिएससीओ इन्टरनेसनल इंक र फ्ल्यास टपअप एलएलसी भ्याटमा दर्ता भए पनि हालसम्म कर भने तिरेका छैनन् । चालु आर्थिक वर्षको २० पुससम्मको तथ्यांकअनुसार २० करोड ९८ लाख भ्याट संकलन भएको छ ।

See More On

सुझावित समाचार