कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन्। निर्वाचनको विकल्प निर्वाचन नै भएको बताउँदै कार्यवाहक प्रमुख भण्डारीले निर्वाचन हुन्छ कि हुन्न भन्ने जनमानसको प्रश्न चिरेर आयोग तयारीमा जुटेको प्रस्ट पारे ।
मंगलबार आयोजित निर्वाचनकाे प्रशिक्षक प्रशिक्षणसम्बन्धी कार्यशालामा भण्डारीले निर्वाचन सुरक्षाका लागि आयोगले सरकारसहित सबै निकायसँग समन्वय गरिरहेको बताए । निर्वाचन हुन्छ कि हुन्न भन्ने संशय विगतमा पनि रहेको स्मरण गर्दै उनले निर्वाचनको विकल्प नरहेको बताए । उनले भने, ‘संविधानसभाको निर्वाचन हुन्छ कि हुँदैन भनेर अघिल्लो दिनसम्म सारा मान्छेमा शंका–उपशंका थियो। भोलिपल्ट मतदानको प्रक्रिया सम्पन्न भएपछि निर्वाचन त भयो नि । त्यसैले अहिले पनि सुरुदेखि निर्वाचन हुन्छ कि हुँदैन ? के निर्वाचन हुन्छ त ? अहिले पनि जनमानसमा आउने प्रश्न यही हो । यो प्रश्नलाई चिरेर निर्वाचनको विकल्प छैन, निर्वाचनको विकल्प निर्वाचन नै हो र निर्वाचन हुन्छ ।’
जेन–जी विद्रोहको फरक पृष्ठभूमिमा निर्वाचन हुन गइरहेको र निर्वाचन सम्पन्न गर्ने आयोगको अठोट रहेको भण्डारीले प्रस्ट पारे । सरकारले सुरक्षा व्यवस्था सुदृढीकरणका लागि सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरेको पनि उनको भनाइ थियो।
आयोगले चुनावको तयारीका क्रममा प्रदेशका प्रमुख सचिव र सचिवहरूसँग पनि परामर्श गरेको कार्यवाहक प्रमुख भण्डारीले बताए । निर्वाचन आयोग व्यवस्थापकीय भूमिकामा चुस्त रूपमा तयारीमा लागिरहेको पनि उनको भनाइ छ।