बागलुङ महोत्सवमा ८ करोडबराबरको कारोबार

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं आठौँ बागलुङ महोत्सवमा आठ करोडबराबरको कारोबार भएको छ। संघका महासचिव इन्द्रमणि पौडेल अर्जुन र प्रेस सल्लाहकार सुवास आचार्यले जारी गरेको संयुक्त विज्ञप्तिमा महोत्सवको करिब चार लाख दर्शकले अवलोकन गरेको जनाइएको छ।

बागलुङ नगरपालिका–१ स्थित बाघचौर खेल मैदानमा पौष ११ गतेबाट सञ्चालन गरिएको महोत्सव पौष २२ गतेसम्म सञ्चालन गरिएको थियो। महोत्सवमा विभिन्न व्यावसायिक स्टलका साथै, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ‘मेड इन बागलुङ’ नाम दिएर बागलुङमा उत्पादन हुने वस्तुको बिक्री-वितरण तथा प्रदर्शन गरिएको थियो। 

स्थानीय उत्पादनको रूपमा निसीखोलामा भेडाको ऊनबाट बनेका काम्ला, अल्लोको कपडा, गुन्द्रुक, भाँगो, मकैको पिठो, कोदोको पिठो, सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुर, सुन्तला, किबीलगायतका स्थानीय उत्पादनले राम्रो बजार पाउनुका साथै बजारीकरणमा समेत सहयोग पुर्याएको आयोजकको भनाइ छ।

महोत्सवमा अटो मोबाइलदेखि होटेल रेस्टुरेन्ट र विभिन्न प्रकारका व्यापारिक स्टलहरू राखिएको थियो। स्टलहरूमा पनि उल्लेखनीय व्यापार भएको उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए। महोत्सवमा रमाइलो मेला सञ्चालन गर्नुका साथै गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, महिलाहरूका लागि लठ्ठो तान्ने प्रतियोगिता, घैँटोफोर प्रतियोगिता, भाले छुनेलगायत विभिन्न प्रतियोगिता सञ्चालन गरिएको थियो।

सुझावित समाचार