नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा आर्थिक तथा वित्तीय अपराध महाशाखाका लागि दरबन्दी थप भएको छ। महाशाखाका लागि एक एसएसपी, एक एसपी, एक डिएसपी र दुई इन्स्पेक्टरको दरबन्दी थप गरिएको हो।
एक वर्षअघि नै सिआइबीमा आर्थिक अपराध हेर्न छुट्टै महाशाखा स्थापना गर्ने निर्णय भए पनि दरबन्दी थपिएको थिएन। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेसँगै सो महाशाखाले औपचारिकता पाएको हो। एआइजीको नेतृत्वमा रहने सिआइबीमा अब एक डिआइजी, एसएसपी दुईजना एसपी तीनजना हुने भएका छन् ।
त्यस्तै, प्रहरी महानिरीक्षकको सचिवालय र कानुन तथा मानव अधिकार महाशाखामा पनि एसएसपीको दरबन्दी स्वीकृत भएको छ । हाल प्रहरीमा एसपीको नेतृत्वमा कानुन र मानव अधिकार शाखा छुट्टाछुट्टै छन् । महाशाखा बनाई दुवै शाखालाई मर्ज गरिएको छ ।
त्यस्तै, प्रहरी अस्पतालमा एसपीको दरबन्दी राखिएको छ । सिंहदरबार सुरक्षा गणमा पनि एसपी खटाउने निर्णय भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रहेको ३१ पदमध्ये केही कटौती तथा केही स्थानान्तरण गरी आर्थिक भार नपर्ने गरी मिलान भएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
नयाँ तेरिजअनुसार तीन एसएसपी, तीन एसपी, तीन डिएसपी र ६ इन्सपेक्टरको दरबन्दी थपिएको गृह मन्त्रालयले जनाएको छ । थपिएका एसएसपीका दुई पद कनाइन महाशाखा र एमटी महाशाखाबाट प्रशासनतर्फ स्थानान्तरण गरिएका हुन् ।