बागलुङमा जारी आठौँ बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि होटेल समिट धौलागिरि बागलुङले जितेको छ। गलकोट नगरपालिकालाई हराउँदै होटेल समिटले उपाधि चुमेको हो।
बांगेचौर खेलमैदानमा भएको फाइनल खेलमा गलकोट नगरपालिकालाई ३–१ सेटको अन्तरले पराजित गर्दै होटेल समिट प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो। लगातार दुई सेट आफ्नो पक्षमा पारेको होटेल समिटले तेस्रो सेट भने गुमाएको थियो। चौथो सेटमा पुनरागमन जित निकाल्दै उपाधि पनि जित्यो।
होटेल समिटले २५–२०, २५–११, १७–२५ र २५–१८ अंकले जित निकालेको हो। होटेल समिटलाई उपाधि दिलाउन पूर्वराष्ट्रिय खेलाडी एवं गण्डकी प्रदेश भलिबल टिमका कप्तानसमेत रहेका सञ्जुविक्रम शाहको प्रदर्शन उत्कृष्ट रह्यो।
च्याम्पियन बनेको होटेल समिटले उपाधिसँगै नगद दुई लाख एक हजार पाँच सय रुपैयाँ प्राप्त गर्याे भने उपविजेता गलकोट नगरपालिकाले नगद एक लाख २१ हजार पाँच सय रुपैयाँमा चित्त बुझाएको छ। त्यसैगरी, तेस्रो स्थानका लागि भएको खेलमा मेरो डेन्टल होमले पर्वतको कुश्मा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्याे।
तेस्रो भएको मेरो डेन्टल होमले ४४ हजार पाँच सय र सान्त्वना भएको कुश्मा नगरपालिका पर्वतले २२ हजार पाँच सय रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा १४ समूहले भाग लिएका थिए। अन्तिम समयमा जैमिनी नगरपालिका र मालिका युवा क्लब खेलमा सहभागी नभएपछि १२ समूहबिच प्रतिस्पर्धा भएको थियो।