ट्रम्पको चेतावनीपछि वासिङटनसँग सहकार्य गर्न भेनेजुएला तयार

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज वासिङटनसँग केही नरम बनेकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई थप चेतावनी दिएको केही समयपछि अन्तरिम राष्ट्रपति वासिङटनसँग नरम बनेकी हुन् । उनले अमेरिकासँग सन्तुलित सम्बन्ध बढाउने घोषणासमेत गरेकी छिन् । उनले अमेरिकासँग सहकार्य गर्नेसमेत बताएकी छिन् । ‘हामी अमेरिका र भेनेजुएलाबिचको सन्तुलित र सम्मानजनक सम्बन्धतर्फ अघि बढ्नुलाई प्राथमिकता ठान्छौँ,’ रोड्रिगेजले टेलिग्राममा लेखेकी छिन् । ‘हामी अमेरिकी सरकारलाई साझा विकासतर्फ लक्षित सहकार्यको एजेन्डामा सँगै काम गर्न निमन्त्रणा दिन्छौँ,’ उनले भनिन् । उनले भेनेजुएलाका जनता  युद्धभन्दा शान्ति र संवादका लागि योग्य रहेको बताइन् । रोड्रिगेजले सोमबार अन्तरिम राष्ट्रपतिको शपथ लिएकी थिइन् ।

त्यसअघि ट्रम्पले भेनेजुएलाकी नयाँ नेतृ डेल्सी रोड्रिगेजलाई सही काम नगरे मदुरोले भन्दा धेरै ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी न्युयोर्क पुर्याइएको भोलिपल्ट ट्रम्पले चेतावनी दिएका थिए । ट्रम्पले अमेरिकाले भेनेजुएलाको सत्ता सञ्चालन गर्ने बताएपछि राजधानी कराकसमा अन्योल बढेको छ । यसअघि आइतबार आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमा रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरोको अमेरिकी सेनाले अपहरण गरेको भन्दै त्यसको विरोध गरेकी थिइन् ।

२०१८ देखि मदुरोको उपप्रमुखका रूपमा सेवा गरिरहेकी रोड्रिगेजलाई शनिबार भेनेजुएलाको सर्वोच्च अदालतले अन्तरिम नेता बनाएको हो । सन् २०११ मा पाकिस्तानको एबोटाबादमा रहेको एक सुरक्षित घरमा अमेरिकी नौसेनाको टोलीले अल–कायदा नेता ओसामा बिन लादेनलाई मारेपछिको सबैभन्दा जोखिमपूर्ण अमेरिकी सैन्य कारबाहीमा अमेरिकी सेनाले मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई हिरासतमा लिएको थियो ।

यसैबिच भेनेजुएलामा अमेरिकी कारबाहीमा अन्तर्राष्ट्रिय कानुनको सम्मानको कमी भएकोमा फ्रान्सले ‘खेद’ जनाएको छ । फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ताले भेनेजुएलामा भएको अमेरिकी सैन्य कारबाहीमा अन्तर्राष्ट्रिय कानुनको सम्मानको कमी भएको भन्दै खेद व्यक्त गरेका हुन् । ‘अमेरिकी हस्तक्षेपमा अन्तर्राष्ट्रिय कानुनको सम्मान गरिएको थिएन । हामी यसका लागि दु:ख व्यक्त गर्छौं,’ उनले भने । यसैबिच अमेरिकी कारबाहीबारे छलफल गर्न आज संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को बैठक बस्ने तय भएको छ ।

इरानलाई पनि ‘कडा प्रहार’ गर्ने ट्रम्पको धम्की
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘कडा प्रहार गर्ने’ चेतावनी दिएका छन् । पक्राउ गरिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई न्युयोर्कको अदालतमा उपस्थित गराइएकै दिन ट्रम्पले इरानलाई चेतावनी दिएका हुन् । तेहरानमा जीवनयापनको अवस्था बिग्रँदै गएको भन्दै प्रदर्शनका क्रममा थप प्रदर्शनकारी मारिएमा ‘धेरै कडा’ प्रहार गरिने ट्रम्पले चेतावनी दिए । आइतबार राति एयर फोर्स वानमा सञ्चारकर्मीलाई ट्रम्पले भने, ‘हामी परिस्थितिलाई धेरै नजिकबाट हेरिरहेका छौँ । यदि उनीहरूले विगतमा जस्तै मानिसलाई मार्न थाले भने मलाई लाग्छ कि उनीहरूलाई संयुक्त राज्य अमेरिकाबाट धेरै कडा प्रहार हुनेछ ।’

ट्रम्पको चेतावनीको इरानले निन्दा गरेको छ । इरानी विदेश मन्त्रालयले ट्रम्पको अभिव्यक्तिप्रति लक्षित गर्दै भनेको छ, ‘इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र कट्टरपन्थी अमेरिकी अधिकारीले इरानको आन्तरिक अवस्थाबारे दिएको अभिव्यक्तिले आतंकवाद र हिंसालाई बढावा दिन्छ ।’ यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीलाई गोली हानेर मारेमा अमेरिकाले हस्तक्षेप गर्ने ट्रम्पले यसअघि पनि बताएका थिए । आर्थिक कठिनाइ, चरम महँगी, बेरोजगारीजस्ता समसामयिक विषयलाई लिएर इरानमा दैनिकजसो सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका छन् । 

अमेरिकी हमलामा ३२ क्युबालीको मृत्यु
भेनेजुएलाका नेता निकोलस मदुरोलाई पक्राउ गर्न गरिएको अमेरिकी कारबाहीमा क्युबाली सरकारले आफ्ना ३२ नागरिक मारिएको बताएको छ । मृतकहरू आफ्ना सशस्त्र बल र गुप्तचर एजेन्सीका सदस्य रहेको भन्दै दुई दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । क्युबाली सरकारको पक्षबाट जारी गरिएको एक विज्ञप्तिमा भेनेजुएलामा क्युबालीको भूमिकाबारे विस्तृत रूपमा उल्लेख गरिएको छैन, तर दुई सरकार लामो समयदेखिका सहयोगी हुन् ।

क्युबाले तेलको बदलामा सुरक्षा सहयोग प्रदान गरिरहेको छ । क्युबाली राष्ट्रपति मिगुएल डियाज–क्यानेलले भेनेजुएलाको अनुरोधमा मदुरो र उनकी श्रीमतीलाई सुरक्षा प्रदान गरेको बताए ।

सरकारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा नागरिकले आफ्नो कर्तव्य सम्मान र वीरताका साथ पूरा गरे र आक्रमणकारीविरुद्धको प्रत्यक्ष लडाइँमा वा सुविधामा भएका बम विस्फोटमा सहादत प्राप्त गरे । भेनेजुएलाले शनिबार काराकासस्थित मदुरोको परिसरमा अमेरिकी छापामारीको क्रममा कतिजना मारिए भनेर पुष्टि गरेको छैन । न्युयोर्क टाइम्सले आइतबार एक नाम नखुलाइएका भेनेजुएलाका अधिकारीलाई उद्धृत गर्दै मृत्यु हुनेको संख्या ८० रहेको बताएको थियो । मदुरोलाई पक्राउ गरेपछिका दिनमा ट्रम्प प्रशासनले क्युबाविरुद्ध यस्तै कारबाही गर्ने विचार गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ । क्युबाको भेनेजुएलाजस्तै अमेरिकासँग दशकौँदेखि शत्रुतापूर्ण सम्बन्ध छ । 
 

सुझावित समाचार