प्रहरीले नक्कली नेपाली नोट छाप्ने मेसिनसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–२, कबलपुरका २८ वर्षीय गौरीशंकर यादव र बारा फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तव रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त अपरेसनपछि उनीहरू बाराबाट पक्राउ परेका हुन्। उनीहरूबाट प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने मेसिन, डिजाइन गर्ने कम्प्युटर, प्रिन्टिङ मेसिनलगायतका सामग्री बरामद गरेको छ।
पक्राउमध्ये श्रीवास्तवले उक्त मेसिन मोटरसाइकलमा राखी नेपाल ल्याउँदै थिए। सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले नक्कली नोट छाप्न प्रयोग हुने मेसिनसहित दुईजना पक्राउ परेको बताए। उनले भने, ‘नक्कली नोट छाप्ने मेसिनसहित दुईजना पक्राउ परेका छन्। उनीहरूलाई हामीले बाराबाट पक्राउ गरेका हौँ। उनीहरूले भारतको बिहारबाट मेसिन नेपाल ल्याउँदै थिए। सोही क्रममा उनीहरू पक्राउ परेका हुन्।’