सिराहाको लहान नगरपालिकाको स्वास्थ्य शाखाले ३० वर्ष कटेका महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको छ।
लहान– २०, ब्राह्मण गोर्छाडी र वडा नम्बर २१ भवानीपुर कालाबञ्जरका महिलाहरूलाई लक्षित गरी ब्राह्मण गोर्छाडीस्थित स्वास्थ्य चौकीमा सोमबार शिविर सञ्चालन गरिएको हो। संघीय सरकारको ससर्त अनुदानअन्तर्गत नगर स्वास्थ्य शाखाद्वारा ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत बडी स्क्रिनिङ तथा व्यवस्थापन शिविर’मार्फत भिआइए विधिबाट पाठेघरकाे मुखको क्यान्सर निःशुल्क परीक्षण भइरहेको स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर चौधरीले जानकारी दिए।
शिविरको उद्घाटन गर्दै नगर प्रमुख महेशप्रसाद चौधरीले पाठेघरको क्यान्सर हुनै नदिन र लक्षण देखिएका वा भइसकेका महिलाको पनि पहिचान गरी उपचार, रेफरका लागि परामर्श दिन कार्यक्रम राखिएको बताए। ‘प्रारम्भिक चरणमै पत्ता लाग्यो भने उपचार गराउन सहज हुन्छ,’ उनले भने, ‘नगरको हरेक वार्डमा रोग पहिचानका लागि शिविर सञ्चालन गरिनेछ।’
महिलामा पाठेघरको मुखको क्यान्सर पहिचान, अवस्थाको पूर्वजानकारी, उपचार विधिलगायत विषयमा सचेतना जगाउने र समस्या पहिचानपछि थप उपचारका लागि अन्यत्र रेफर गर्न सहजीकरण गर्ने गरी स्वास्थ्य शाखामार्फत शिविर चलाइएको उनले बताए।
शिविरमा कम्युनिटी नर्सिङ अधिकृत तेजकुमारी श्रेष्ठ, सिनियर अनमिद्वय राजकुमारी चौधरी र रीता यादवले महिलाहरूको पाठेघरको जाँच गरिरहेको नगर स्वास्थ्य शाखाका रामानन्द चौधरीले बताए। पाठेघरको जाँच गराउन आएका महिलाहरूलाई ब्राह्मण गोर्छाडी र भवानीपुर कालाबञ्जर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सहजीकरण गरिरहेका छन्।
जोखिमयुक्त गाह्रो काम, पोषिलो खानेकुराको कमी, चेतनाको कमीलगायतका कारणले समयमै रोगको पहिचान हुन नसक्दा पनि क्यान्सरबाट पीडित भई मृत्युसमेत हुन सक्ने अवस्थाबाट जोगाउन शिविर उपलब्धिमूलक हुने नर्सिङ अधिकृत श्रेष्ठले बताइन्।
त्यसअघि गत जेठको पहिलो साता नगरको १७ र २४ नम्बर वडास्थित स्वास्थ्य चौकीमा आयोजित शिविरमा जाँच गरिएकामध्ये ६ जना महिलाको प्रारम्भिक चरणको क्यान्सरको पहिचान भएको शाखाले जनाएको छ। शाखाका अनुसार शिविरमा २१३ जनाको जाँच गराउँदा १७ नम्बर वडाका तीन र २४ नम्बर वडाका ६ जनामा पाठेघरको मुखको क्यान्सर पहिचान भएको थियो।