- अन्तर्राष्ट्रिय मञ्चमा हामीलाई सहयोग गरिदेऊ भनेर याचना गर्नुपर्ने नेपालले विश्वलाई दिने विषय बनेको छ योग र ध्यान
ध्यान यस्तो शक्ति हो, जसले विश्वलाई नै शान्त र समृद्ध बनाउने खजाना जुटाउन सक्छ । हरेक अन्तर्राष्ट्रिय मञ्चमा हामीलाई सहयोग गरिदेऊ भनेर याचना गर्नुपर्ने नेपालले विश्वलाई दिने विषय बनेको छ योग र ध्यान । त्यही ध्यानको उपकरणद्वारा ज्ञानको प्रकाश छर्ने वेदान्त र उपनिषद् रचना गरे ऋषिहरूले सिंगो मानवजातिको उत्थानका लागि । ध्यान जेमा लगायो त्यो दिन दुईगुणा र रात चौगुणा बढ्दै जान्छ ।
विश्वजगत्ले विज्ञान र प्रविधिको विकास गरी आर्जन गरेको शक्ति एक–अर्कालाई दबाउन, सिध्याउन प्रयोग गरिँदा विश्व आज अघोषित तेस्रो विश्वयुद्धको सन्त्रासमा परेकाले शान्ति स्थापना गर्ने एक मात्र उपाय नेपालको योग, ध्यान र ज्ञान हो । यसको बलमा अन्तर्राष्ट्रिय जगत्को विश्वास जित्न सकियो भने आज रेमिट्यान्समा अडेको देश आत्मनिर्भर हुँदै एकाध दशकभित्रै समृद्ध बन्न सक्छ । भूराजनीतिक अवस्था पेचिलो बन्दै गएको आजको परिस्थितिमा कुनै एउटा देशको आड लिएर टिक्न सकिँदैन । सबैको बन्नसके टिक्ने मात्र होइन, देश शान्त र समृद्ध बन्छ । सबै देशको बन्न सक्ने आधार छन् नेपालसँग । ती मुख्य आधार हुन्, ऋषि–महर्षिले सुम्पेको अध्यात्मको विरासत र अलौकिक ऊर्जा । ऋषिहरूको ज्ञान र प्रकृतिबाट प्राप्त वरदान अन्तर्राष्ट्रिय जगत्लाई आकर्षण गर्ने तत्व बन्न सक्छन् ।
अध्यात्मभित्र योग र ध्यान दुवै पर्छन् । अहंकार आत्मामा प्रतिष्ठित हुनु योग हो । योगले ज्ञानसँग भेट गराउँछ । जसलाई आत्मज्ञान भनिन्छ । जीवनको लक्ष्य मुक्ति हो । मुक्ति प्राप्त गर्ने साधन आत्मज्ञान हो । राग, द्वेष, मोह, आसक्तिबाट मुक्त भएर आनन्दको अनुभूति गरेको बोधको अवस्था हो, मुक्ति । आत्मज्ञानले बोध गराउँछ । बोधले सुख–दु:खमा समभाव राख्दै निष्काम कर्म स्वस्फूर्त गराउँछ । बाहिरी र भित्री दुवै जगत्मा दोहोरो फाइदा गराउने निष्काम कर्मले भौतिक वस्तुको उत्पादकत्व वृद्धि र चित्त शुद्ध बनाउँछ । शुद्ध चित्तले जीवनमा आइपर्ने जुनसुकै परिस्थितिको सामना धैर्यपूर्वक गराई जीवन द्वन्द्वरहित बनाइदिन्छ । द्वन्द्वरहित हुनु नै मुक्ति हो । मुक्तिको महत्व जीवन जिउँदो रहँदासम्म छ । मरेपछिको मुक्ति रोगी मरेपछि रोगको औषधि गरेजस्तै अर्थहीन छ ।
अध्यात्मले मानिसलाई सदाचारी बनाउँछ । किनकि अध्यात्म भनेको स्वयंको अधिकतम अध्ययन गर्नु हो । आफू भनेको अहंकार हो, जो सूक्ष्म हुन्छ, कर्ममा अभिव्यक्त हुन्छ, त्यही कर्मको अध्ययन गरी गलत कर्म पहिचान गरी कर्तालाई सुधारिन्छ । सुधारिएको कर्ता सदाचारी बन्छ । सदाचार सुशासनको सुचालक हो । सदाचारी मानिस भएको समाज र देशमा भ्रष्टाचारको मार्ग अवरुद्ध हुन्छ । स्वभावमा जिउनुपर्ने मानिस प्रभावमा जिउन पुग्दा भ्रष्टाचारले ठाउँ पाउँछ । बलियोले कमजोरमाथि अनुचित व्यवहार गर्नु र कमजोरले स्विकार्दै जानु प्रभावमा जिउनु हो । मानिस भनेको शरीर मात्र हो भन्ने बुझ्नेले पशुले जसरी प्रभावको जीवन जिउँछ । चेतनायुक्त विवेक हो मानिसको जीवन भन्ने बुझ्नेले स्वभावमा बिताउँछ जीवन ।
मानिसको स्वभाव हो आनन्द । आनन्दमा रहेको मानिसले अरूलाई पनि आनन्द नै दिन्छ, भ्रष्ट व्यवहार गर्दैन । आनन्द मानवजीवनको अन्तिम लक्ष्य र पूर्णता दुवै हो । चैतन्यस्वरूप हो मानिस । चैतन्यस्वरूप नै आत्मा हो । आत्माले शरीर धारण गरेको हुन्छ । शरीरमा हुने चेतनाको गहिराई हो चैतन्यता । मानिस कमजोर प्राणी होइन । ऊ चैतन्यताजस्तो विलक्षण ज्ञान र ऊर्जाले भरिएको छ । मानिसले अज्ञानतावश आफूलाई जड शरीर मात्र ठान्छ । शरीर चेतनाको स्रोत र मोक्षप्राप्तिको सहायक साधन हो, साध्य होइन । चैतन्यस्वरूप आत्मबोध गरेर आनन्दमा स्थित हुनु साध्य हो । स्थिरताका लागि ढुंगाजस्तो जड पदार्थ पनि चाहिन्छ ।
चैतन्यताले ढुंगालाई मूर्तिमा रूपान्तरण गर्ने सत्वगुणवाला ज्ञान, ढुंगा कुँद्ने क्रियाशीलताका लागि आवश्यक पर्ने रजोगुण र एक ठाउँमा स्थिर भएर रहने तमोगुणको सन्तुलन मिलाइदिन्छ । धनसम्पत्ति र भौतिक साधनको बन्दोबस्त गर्ने बाहिरी जगत्को सारा खेल सत्व, रज र तमोगुणले खेल्छन् । यी गुणबाट गुणातीत भएपछि भित्री जगत्को आनन्दस्वरूप भेटेर मानव जीवनले पूर्णता वा मुक्ति पाउने बुटी ध्यान हो र त्यो नेपालले विश्वलाई दिन सक्छ । बाहिरी जगत्बाट मात्र मानवजीवनले पूर्णता पाउन सक्दैन । भित्री जगत्को अनिवार्यता रहन्छ । भित्री जगत् अध्यात्मले खोलिदिन्छ । अध्यात्म सेल्फ नलेज हो ।
आत्माको शासन स्विकार्नु असली अनुशासन हो । असली साधक आत्माबाटै शासित हुन्छ । आत्मालाई जे ठिक लाग्छ त्यही गर्छ । आत्मा सच्चाइ हो । भित्रको उन्नतिका लागि आत्मानुशासन आवश्यक हुन्छ, समाज वा विद्यालयले दिने सामान्य अनुशासनले भित्री उन्नति हुन सक्दैन । उन्नति भन्नाले धन सम्पत्ति जोड्ने भन्न खोजेको होइन । भित्री उन्नति भयो भने मात्र बाहिरी जगत्मा असली माल खरिद गर्न सकिन्छ । बाहिरी सम्पत्ति चाहिन्छ पनि । भित्रको उन्नतिले बाहिर मूल्यवान् कुराको कारोबार गराउँछ, जसले मुक्त जीवन जिउँदै जीवन सार्थक बनाउँछ । नेपाललाई आध्यात्मिक राष्ट्रका रूपमा उभ्याउन सके देशमा सुशासन कायम भई नेपाल आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै विश्वगुरु बन्ने गौरवसहित शान्त र समृद्ध मुलुक बन्नेछ ।