नेकपा (एमाले) बैतडीले आगामी निर्वाचनका लागि निवर्तमान मन्त्री तथा एमाले केन्द्रीय सदस्य दामोदर भण्डारीलाई एकल सिफारिस गरेको छ। जिल्ला कमिटीको नवौँ पूर्ण बैठकले भण्डारीलाई प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एकल सिफारिस गरेको हो।
जेन-जी आन्दोलनअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रहेका भण्डारीले २०७० सालको संविधानसभाको निर्वाचनयता निरन्तर तीनवटा चुनाव जितेका छन्।
जिल्ला कमिटीले भण्डारीलाई सिफारिस गर्नुका साथै निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको एमालेका जिल्ला अध्यक्ष नरेश विकले जानकारी दिए।
नेपाली कांग्रेसले जिल्ला सभापति चतुरबहादुर चन्दलाई यसअघि नै एकल उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ। शिक्षक संगठनको राजनीतिबाट उदाएका चन्द नेपाल क्रिकेट एसोसिएसनका अध्यक्षसमेत हुन्।