विद्यार्थी महोत्सव गर्दै चैतन्य पाठशाला

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

धनगढीमा रहेको चैतन्य पाठशालाले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्ने उद्देश्यले विद्यार्थी महोत्सव सञ्चालन गर्ने भएको छ । विद्यालयले आज धनगढीमा पत्रकार सम्मेलन गरेर यही २२ देखि २९ पुससम्म विद्यार्थी महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिएको छ ।

महोत्सवमा कैलाली, कञ्चनपुरका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागिता रहने चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिए । विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै सिर्जनशीलता, नेतृत्व क्षमता, सामाजिक चेतना, अन्वेषणशील सोच र आत्मविश्वास विकास गर्ने उद्देश्यले विद्यार्थी महोत्सव गर्न लागिएको उनले बताए ।

महोत्सवले विद्यार्थीलाई कक्षाकोठाभित्र सीमित नभई व्यावहारिक, जीवनोपयोगी र मूल्यपरक सिकाइको अनुभव प्रदान गर्ने विश्वास लिइएको जोशीले बताए । ‘चैतन्यले विद्यार्थीको प्रतिभाको पहिचान गरी प्रस्फुटनमा मद्दत गर्दै संस्कार, मूल्य र नैतिक शिक्षालाई व्यवहारसँग जोडेर जीवनोपयोगी शिक्षा दिँदै आएको छ,’ उनले भने, ‘विद्यार्थीको प्रतिभा उजागर गर्नकै लागि विद्यार्थी महोत्सव गर्न लागेका हौँ ।’ चैतन्यले गर्न लागेको यो दोस्रो विद्यार्थी महोत्सव हो ।

महोत्सवमा शैक्षिक, सांस्कृतिक, साहित्यिक तथा रचनात्मक गतिविधिहरू गरिने चैतन्य पाठशालाका प्रधानाध्याक प्रेमनिधि ओझाले जानकारी दिए । विद्यार्थीले बनाएका नमुना हवाईजहाज उडान परीक्षण, ड्रोन उडान, विज्ञान, अन्वेषण तथा प्रविधि प्रदर्शनीसमेत महोत्सवमा प्रदर्शन गरिने उनले जानकारी दिए ।

अन्तरविद्यालय प्रतियोगिताहरू, योग तथा ध्यान कार्यक्रम, खेलकुद, रक्तदान, स्थानीय परिकार प्रदर्शनीलगायत मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत गरिने ओझाले बताए । त्यस्तै प्राज्ञिक बहस, मौलिक तथा सांस्कृतिक प्रस्तुति, साहित्य र संस्कृति पुस्तक समीक्षा, कविता वाचन, माघी मिलन विशेष कार्यक्रम, चित्रकला तथा हस्तकला प्रतियोगिताहरू पनि गरिने  उनले जानकारी दिए ।
    

सुझावित समाचार