इरानमा दिनदिनैको सरकारविरोधी प्रदर्शनको अर्थ

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

इरानमा डिसेम्बरको अन्त्यमा अमेरिकी डलरको तुलनामा देशको मुद्रा रियाल रेकर्डस्तरमा तल्लो बिन्दुमा झरेपछि आमइरानीले महँगीको मार व्यहोर्नुपर्यो । यसको विरोधमा हजारौँ इरानी सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शन दिनानुदिन बढ्दै गएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबिच ठाउँ–ठाउँमा झडप भएको छ । झडपमा प्रदर्शनकारीको मृत्युसमेत भएको छ । राष्ट्रपति मसुद पेजेस्कियनको सरकारले एकताको अपिल नै गरेको छ । देशले हाल भोगिरहेको आर्थिक दबाबका लागि तेहरानले आफ्ना ‘शत्रुहरू’माथि दोष थोपरेको छ । आर्थिक सुधार लागू गर्ने र भ्रष्टाचार नियन्त्रणको थप प्रयास गर्ने पेजेस्कियनको सरकारले वाचा गरेको छ । तर, सरकारले आश्वस्त पार्न खोजे पनि विरोध प्रदर्शन भने जारी छ ।

प्रदर्शनमा कम्तीमा सातजनाको मृत्यु भएको छ भने सयौँ पक्राउ परेका छन् । पछिल्लो प्रदर्शन इरानको आर्थिक संकटको विरोधमा आइतबार तेहरानका पसलेहरूले आफ्नो व्यवसाय बन्द गरेपछि सुरु भएको थियो । प्रदर्शन र विरोध सुरुमा आर्थिक कठिनाइकेन्द्रित थियो भने बिस्तारै यो राजनीतिक विरोधमा परिणत हुँदै गएको छ । विरोध सीमित क्षेत्रबाट धेरै सहरमा फैलिँदै गएको छ । 

महँगीसम्बन्धी वास्तविक चिन्ता
इरान विश्वमै सबैभन्दा धेरै पश्चिमी प्रतिबन्ध सामना गरिरहेको देशमध्ये एक हो । फराकिलो अन्तर्राष्ट्रिय प्रतिबन्धको दायराका कारण तेहरान अन्तर्राष्ट्रिय वित्तीय बजार र स्थिर विदेशी सम्पत्ति पहुँच गर्नै संघर्ष गर्नुपर्ने स्थितिमा छ । आयातमा देशको बढ्दो निर्भरताले झन् कठिनाइ बढाइरहेको छ । यसले मुद्रास्फीति दिन–प्रतिदिन बढ्ने स्थिति छ ।

गत आइतबार इरानी रियाल अमेरिकी डलरको तुलनामा १४.२ लाखले झर्यो । पछिल्लो ६ महिनामै त्यहाँको मुद्राको मूल्यमा ५६ प्रतिशत गिरावट आइसकेको छ । मुद्रामा आइरहेको गिरावटले मुद्रास्फीतिलाई बढावा दिएको छ । परिणामस्वरूप इरानमा खाद्यान्नको मूल्य गत वर्षको तुलनामा कम्तीमा ७२ प्रतिशतले बढेको छ । ‘सरकारले इन्धनमा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा अन्य सामानको मूल्य घटाउन ध्यान दिनुपर्थ्यो । यो वर्ष दुग्धजन्य पदार्थको मूल्य ६ गुणा र अन्य सामानको मूल्य १० गुणाभन्दा बढीले बढेको छ,’ ट्याक्सी चालक माजिद इब्राहिमीले अल जजिरालाई भने ।

छिट्टै देशव्यापी बनेको प्रदर्शन
आइतबार तेहरानको व्यापारीहरूले देशको गिर्दो अर्थतन्त्रप्रति विरोध जनाउँदै सुरु गरेको प्रदर्शन देशव्यापी बन्यो । नयाँ वर्षको पूर्वसन्ध्यासम्म प्रदर्शनमा विद्यार्थीदेखि समाजका अन्य तप्कासमेत जोडिइसकेका थिए । प्रदर्शन इरानका ३१ प्रान्तमध्ये १७ प्रान्तसम्म फैलिसकेको छ । प्रदर्शनमा दसौँ हजार मानिस सहभागी हुन थालेका छन् । सुरक्षा बलले केही ठाउँमा प्रदर्शनकारीमाथि बल प्रयोग गरेका छन् ।

इरानको अर्धसरकारी समाचार एजेन्सी फार्सले बिहीबार दक्षिण–पश्चिम इरानको लोर्डेगनमा सुरक्षा बल र प्रदर्शनकारीबिचको भिडन्तमा तीनजनाको मृत्यु भएको रिपोर्ट गरेको थियो । मध्यइरानमा रहेको अजनामा ​​थप तीनजना र कोहदास्तमा अर्को एकजनाको मृत्यु भएको समाचार आएका थिए । ‘केही प्रदर्शनकारीले प्रान्तीय गभर्नरको कार्यालय, मस्जिद, सहिद प्रतिष्ठान, टाउन हल र बैंकहरूसहित सहरका प्रशासनिक भवनमा ढुंगा हान्न थालेपछि प्रहरीले अश्रुग्यास हानेका थिए,’ फार्सले लोर्डेगन भन्ने ठाउँमा भएको विरोध प्रदर्शनको समाचारमा लेखेको छ । 

सरकारको प्रतिक्रियाप्रति अन्योल
विगतमा सार्वजनिक विरोधप्रति तेहरानले कठोर प्रतिक्रिया जनाउने गर्थ्यो, जसमा ठुलो संख्यामा प्रदर्शनकारीको मृत्यु हुने गर्थ्यो । तर, यसपटक सरकारी प्रतिक्रिया केही संयमित देखिएको छ । अहिलेसम्म, प्रदर्शनकारी र सुरक्षा बलबिच धेरै ठाउँमा झडप भए पनि पेजेस्कियनको सरकारले कठोरतापूर्वक उत्रने चेतावनी दिएको छैन । बरु, उल्टो सरकारले प्रदर्शनकारीको ‘वैध माग’ सुन्न तयार रहेको बताएको छ । 

प्रदर्शनकारीको चिन्तालाई सम्बोधन गर्ने प्रयासमा सरकारले बुधबार केन्द्रीय बैंकको नयाँ गभर्नर नियुक्त गरेको छ । रियालको नाटकीय गिरावटपछि नवनियुक्त गभर्नर अब्दोलनासेर हेम्मतीले आर्थिक स्थिरता पुनर्स्थापित गर्ने वाचा गरेका छन् । मंगलबार, उच्च शिक्षा मन्त्रालयले तेहरान विश्वविद्यालय र दुई अन्य प्रमुख विश्वविद्यालयमा तैनाथ सुरक्षा प्रबन्धकहरूलाई बर्खास्त गर्यो । स्थानीय मिडियाअनुसार ती प्रबन्धकमाथि ‘दुव्र्यवहारको रेकर्ड रहेको र तिनले हालै भएका विद्यार्थी प्रदर्शन राम्ररी सम्हाल्न नसकेको’ भन्दै हटाइएको हो ।

पाँच वर्षअघि अमेरिकी ड्रोन आक्रमणमा वरिष्ठ इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका कमान्डर कासिम सुलेमानीको हत्याको सम्झनामा बिहीबार तेहरानमा आयोजित एक समारोहलाई राष्ट्रपति पेजेस्कियनले प्रदर्शनकारीको चासो सम्बोधन गर्न प्रयोग गरे । त्यहाँ बोल्दै उनले आर्थिक सुधार र भ्रष्टाचारलाई सम्बोधन गर्ने आफ्नो सरकार प्रतिबद्धता रहेको जोड दिएका थिए । ‘हामी सबै प्रकारका तस्करी र घुसखोरी उन्मूलन गर्न कटिबद्ध छौँ,’ सहभागीहरूलाई सम्बोधन गर्दै उनले भने, ‘हामी सबै जनताको समस्या समाधान गर्न र उत्पीडित तथा विपन्न वर्गको अधिकारको रक्षा गर्न एकसाथ उभिनुपर्छ ।’ त्यस अवसरमा उनले जनताको जीविकोपार्जनको रक्षा गर्नु आफ्नो सरकारको मुख्य कार्यभार भएको घोषणा गरे ।

यसअघि सन् २०२२ मा २२ वर्षीया युवती महसा अमिनीको हिरासतमा मृत्यु भएपछि पनि इरानमा ठुलो विरोध प्रदर्शन उठेको थियो । त्यस वर्ष सेप्टेम्बरमा हिजाब सही तरिकाले नलगाएको कारण पक्राउ परेकी अमिनीको हिरासतमै मृत्यु भएको थियो । पश्चिमी सहर साक्केजमा अमिनीको अन्त्येष्टिपछि लगत्तै पहिलोपटक प्रदर्शन सुरु भएको थियो । त्यसपछि महिलाले मृतक महिलाप्रति ऐक्यबद्धता जनाउँदै आफूहरूले लगाउने स्कार्फ च्यात्ने अभियान नै चलाए । अमिनीप्रति ऐक्यबद्धता व्यक्त गर्दै विभिन्न प्रकृतिको प्रदर्शन देशैभरि फैलियो । त्यसपछि तेहरानले कठोर प्रतिक्रिया जनायो । दसौँ हजार मानिसलाई मनोमानी रूपमा गिरफ्तार गरियो । प्रदर्शनमा व्यापक अश्रुग्यास र गोलीको प्रयोग गरियो । मानव अधिकार संगठनका अनुसार त्यतिवेला सरकारी दमनमा सयौँ मानिसको मृत्यु भएको थियो ।

सन् २०२४ मा संयुक्त राष्ट्र संघका विज्ञहरूको एक अनुसन्धानले अमिनीको मृत्युपछि उठेको प्रदर्शनमा तेहरानले गरेको दमनलाई ‘मानवताविरुद्धको अपराध’को संज्ञा दिएको छ । । तथापि, त्यस आरोपलाई तेहरानका अधिकारीले भने ‘झुटा’ र ‘पक्षपाती’ भनेर अस्वीकार गरेका थिए । सन् २०२२ को विरोध प्रदर्शनपछि केही समयका लागि अमिनीको गिरफ्तारीका लागि जिम्मेवार धार्मिक प्रहरीलाई नै निलम्बन गरिएको थियो । तथापि, अर्को वर्ष प्रदर्शन मत्थर भएपछि फेरि त्यसलाई पुनर्स्थापित गरिएको थियो । 

(कोर्डल ट्युनिसियामा पत्रकारिता गर्छन्)

सुझावित समाचार