अमेरिकाले संयुक्त राष्ट्रसंघको सदस्यराष्ट्र ल्याटिन अमेरिकी मुलुक भेनेजुएलाको राजधानी काराकासमा भीषण हमला गरी राष्ट्रपति निकोलस मदुरोे र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको छ । उनीहरूलाई न्युयोर्क लगेर लागुऔषध तस्करीलगायतका मुद्दा लगाउने अमेरिकाको तयारी छ । भेनेजुएलाले हमलाको निन्दा गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा घटनाबारे छलफल गर्न आह्वान गरेको छ भने शक्तिको आडमा एक सार्वभौम राष्ट्रका प्रमुखलाई पक्राउ गरिएको भन्दै विश्वका कैयौँ मुलुकले घटनाको निन्दा गरेका छन् ।
शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गरेको र राष्ट्रपतिदम्पतीलाई नियन्त्रणमा लिएर बाहिर लगिएको सार्वजनिक गरेका थिए । तर, उनीहरूलाई कहाँ, कुन अवस्थामा राखिएको छ भन्नेबारे बताएनन् । स्थानीय समयअनुसार शनिबार बिहान २ बजेदेखि कराकासवरिपरि अमेरिकी सैनिकले भीषण हमला गरेका थिए । भेनेजुएलाका मिरान्डा, आरागुआ र ला ग्वाइरा राज्यहरूमा तथा कतिपय सैन्य बेसमा हमला भएको थियो । पक्राउ पर्नुअघि राष्ट्रपति मदुरोेले देशमा संकटकाल लगाउने आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘अमेरिकी सरकारद्वारा भेनेजुएलाको भूमि र जनताविरुद्ध गरिएको अति गम्भीर सैनिक आक्रमणलाई भेनेजुएला निन्दा, अस्वीकार र अन्तर्राष्ट्रिय समुदायसामु विरोध गर्दछ,’ भेनेजुएला सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक समाचारअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले हप्तौँअघिदेखि भेनेजुएलामा लागुऔषध कार्टेलमाथि स्थलगत आक्रमण गर्ने धम्की दिएका थिए । अमेरिकाले क्यारिबियन क्षेत्रमा सबैभन्दा आधुनिक विमानवाहक युद्धपोत युएसएस जेराल्ड आर फोर्ड र अन्य युद्धपोतहरू, ठुलो संख्यामा नौ सैनिक र हवाई शक्ति तैनाथ गरेको थियो । अमेरिकाले गत सेप्टेम्बरदेखि नै क्यारिबियन सागर र पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मदुरोेलाई लागुऔषध कार्टेलको प्रमुख भएको आरोप लगाउँदै आएका थिए । केही समयअघि ट्रम्पले भनेका थिए, ‘मदुरोले पद छोड्नु बुद्धिमानी हुनेछ । किनकि उनको दिनगन्ती सुरु भइसकेको छ ।’
मदुरोले लागुऔषध व्यापारमा संलग्नता अस्वीकार गर्दै आएका थिए । उनले पृथ्वीको सबैभन्दा ठुलो तेल भण्डार भेनेजुएलामा रहेका कारण त्यसमा आँखा गाडेर अमेरिकाले आफूलाई सत्ताच्युत गर्न खोजेको आरोप लगाएका थिए ।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले मदुरोमाथि न्युयोर्कमा लागुऔषध तथा हतियारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरिएको र उनले ‘अमेरिकी भूमिमा, अमेरिकी अदालतहरूमा, अमेरिकी न्यायको पूर्ण कठोरता सामना गर्नुपर्ने’ बताएकी छिन् । उनीविरुद्ध लागुऔषध तस्करी तथा आतंकवाद, कोकिन तस्करी, मेसिनगन तथा विनाशकारी उपकरणको अवैध स्वामित्वलगायत मुद्दामा अदालतमा सुनुवाइ हुनेछ । उनलाई अदालतमा पेस गरिनेछ ।
ट्रम्पले भेनेजुएलालाई अमेरिकाको दक्षिणी सीमामा आइपुग्ने लाखौँ आप्रवासीसँग जोड्दै आएका छन् । सन् २०१३ यता करिब ८० लाख भेनेजुएलालीहरू आर्थिक पतन र राजनीतिक दमनका कारण देश छाड्न बाध्य भएको अमेरिकी दाबी छ ।
ट्रम्पले भेनेजुएलालाई कोकिन ओसारपसारको प्रमुख मार्ग र अमेरिकामा फेन्टानिल संकटको एक कारक भएको तर्क गरेका छन् । उनले भेनेजुएलाका दुई आपराधिक समूह ट्रेन दे आरागुआ र कार्टेल दे लोस सोलेसलाई विदेशी आतंकवादी संगठनका रूपमा सूचीकृत गरेका छन् । कार्टेल दे लोस सोलेस समूहको नेतृत्व स्वयं मदुरोले गरिरहेको ट्रम्पको आरोप थियो ।
मेक्सिको, रुस, इरान, क्युबालगायतले गरे कडा विरोध
रुसले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीको निन्दा गरेको छ । ‘भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सशस्त्र आक्रमण चिन्ताजनक र निन्दनीय छ,’ रुसी विदेश मन्त्रालयले भनेको छ ।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले संयुक्त राष्ट्रसंघको आपत्कालीन बैठक बोलाउन आग्रह गरेका छन् । कोलम्बियाले भेनेजुएलाको सीमा क्षेत्रमा सेना तैनाथ गरेको छ ।
स्पेनले अमेरिका र भेनेजुएला दुवैलाई तनाव कम गर्न र संयम अपनाउन आह्वान गरेको छ । इरानले भेनेजुएलामाथि गरिएको सैन्य आक्रमणलाई देशको राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डतामा स्पष्ट उल्लंघन भएको भन्दै निन्दा गरेको छ । क्युबाले अन्तर्राष्ट्रिय समुदायलाई बोल्न आह्वान गर्दै शान्तिको क्षेत्रमाथि अमेरिकाबाट क्रूरतापूर्वक आक्रमण भएको प्रतिक्रिया दिएको छ ।
बोलिभियाली पूर्वराष्ट्रपति इभो मोरालेसले अमेरिकी हमलाको निन्दा गरेका छन् । चिलीका राष्ट्रपति गेब्रियल बोरिकले शान्तिपूर्ण समाधानको आह्वान गर्दै भेनेजुएलामा सैन्य कारबाहीको निन्दा गरेका छन् ।
मेक्सिकोले पनि घटनाको निन्दा गरेको छ । भनेको छ, ‘भेनेजुएलाको भूभागमा अमेरिकी सेनाहरूले एकपक्षीय रूपमा गरेका हालका सैन्य क्रियाकलापलाई कडा रूपमा निन्दा र अस्वीकार गर्छौँ । यसले क्षेत्रीय स्थिरतालाई गम्भीर रूपमा संकटमा पार्छ ।’
जर्मनी, इटाली, बेलायतलगायतले घटनालाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका छन् । बेलायती प्रधानमन्त्री किर स्टारमरले भेनेजुएलामा अमेरिकी अपरेसनमा बेलायत संलग्न नभएको स्पष्ट पारेका छन् । यसबारे ट्रम्पसँग छलफल पनि नभएको उनले बताएका छन् । अर्जेन्टिनाका राष्ट्रपति जबिएर मिलेईले भने मदुरो पक्राउको प्रशंसा गरेका छन् ।
नेपालमा पनि उठ्दै भर्त्सनाका स्वर
डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री
संयुक्त राष्ट्रसंघको सदस्यराष्ट्र भेनेजुएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्रसंघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लंघन हो । यसको सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ । यस्तो ‘जसको लाठी उसको भैँसी’ प्रवृत्तिलाई वेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्छ ।
प्रा. कृष्ण पोखरेल, राजनीतिशास्त्री
२१औँ शताब्दीमा पनि एउटा स्वतन्त्र मुलुक भेनेजुएलामाथि अमेरिकाले सैन्य आक्रमण गरेको देख्दा ‘अमेरिकाले ल्याटिन अमेरिकालाई आफ्नो कोठेबारी ठान्छ’ भन्ने पढेका थियौँ, हो रहेछ । अनि, उनै आक्रमणकारी राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार चाहिएको छ ।
३७ वर्षअघिको यस्तै घटना
अमेरिकाले भेनेजुएलामाथि गरेको हमलालाई १७ डिसेम्बर १९८९ मा उसले पनामामाथि आक्रमण गरी राष्ट्रपति म्यानुएल नोरेगालाई लागुऔषध तस्करीको अभियोगमा नियन्त्रणमा लिएको घटनासँग जोडिएको छ । त्यसवेला सानो देश पनामाको क्यानाल जोनमा ठुलो संख्यामा अमेरिकी सेना तैनाथ थिए । मदुरो र नोरेगा दुवै अमेरिकाविरोधी रुझानका थिए ।
पनामामाथि आक्रमण गर्नुअघि अमेरिकाले सन् १९८८ मा मियामीमा नोरेगामाथि लागुऔषध तस्करीको अभियोग दर्ता गरेको थियो, जुन अहिले मदुरोमाथि गरिँदै आएको कारबाहीसँग मिल्दोजुल्दो छ । नोरेगाले सन् १९८५ मा निकोलास आर्दितो बार्लेटालाई राजीनामा दिन बाध्य पारेका थिए । सन् १९८९ को निर्वाचन रद्द गरेर अमेरिकाविरोधी जनमतलाई समर्थन गरेका थिए । त्यसपछि अमेरिकाले सैन्य हमला गरेको थियो ।
पनामामा गरिएको अमेरिकी सैन्य हस्तक्षेप भियतनाम युद्धपछि गरिएको सबैभन्दा ठुलो अमेरिकी सैन्य हमला थियो । अमेरिकाले नोरेगालाई लागुऔषध तस्करीको अभियोगमा अमेरिका लगेको थियो । अमेरिकामा उनीमाथि मुद्दा चलाइयो र सन् २०१० सम्म त्यहीँ कारावासमा राखियो । त्यसपछि उनलाई अर्को मुद्दाको सामना गर्न फ्रान्स पठाइयो र एक वर्षपछि फेरि पानामा फर्काइयो । जेलमै रहेका वेला उनको सन् २०१७ मा पनामामा मृत्यु भएको थियो ।
अमेरिका–भेनेजुएला विवाद शृंखला
१० जनवरी २०२५ : विवादित चुनावपछि मदुरोले तेस्रो कार्यकालका लागि शपथ लिए । अमेरिकाले धाँधलीको आरोप दोहोर्याउँदै चुनावी नतिजालाई अस्वीकार गर्यो ।
जनवरी : ट्रम्प अमेरिकी सत्तामा फर्किएपछि अमेरिकामा बसोबास गर्ने करिब ६ लाख भेनेजुएलालीलाई देश निकाला ।
२० फेब्रुअरी : ट्रम्प प्रशासनले भेनेजुएलाको ट्रेन डे अरागुआ गिरोहलाई ‘विदेशी आतंकवादी संगठन’को संज्ञा दियो । ट्रेन डे अरागुआ मदुरोको मोर्चा भएको दाबी ट्रम्पको छ । यद्यपि, उक्त समूह र मदुरोबिच सम्बन्धको कुनै प्रमाण नभेटिएको अमेरिकी गुप्तचर निकाय बताउँछ ।
२४ मार्च : ट्रम्पले भेनेजुएलाबाट तेल खरिद गर्ने देशहरूमा २५ प्रतिशत कर लगाए ।
८ अगस्ट : अमेरिकाले मदुरोलाई पक्राउ गरेबापतको पुरस्कार बढाएर पाँच करोड डलर पुर्यायो, उनलाई लागुऔषध गिरोह कार्टेल डे लस सोल्सको ‘विश्वव्यापी आतंकवादी नेता’ तोक्यो ।
सेप्टेम्बर–नोभेम्बर : वासिंटनले सेप्टेम्बर २ मा क्यारिबियन र प्रशान्त क्षेत्रमा समुद्री ‘लागुऔषधविरोधी’ अभियान सुरु गर्यो ।
१५ अक्टोबर : ट्रम्पले भेनेजुएलामा गोप्य कारबाही सञ्चालन गर्न सिआइएलाई अधिकार दिएको पुष्टि गरे ।
१२ नोभेम्बर : सम्भावित अमेरिकी आक्रमणविरुद्ध भेनेजुएलाले राष्ट्रव्यापी सैन्य अभ्यास सुरु गर्यो ।
१४ नोभेम्बर : दक्षिण अमेरिकानजिकै सेना तैनाथ गर्दै अमेरिकाले ‘दक्षिणी स्पियर’ मिसनको घोषणा गर्यो ।
१४–१६ नोभेम्बर : अमेरिकाले विश्वको सबैभन्दा ठुलो विमानवाहक युएसएस जेराल्ड आर फोर्ड, अन्य युद्धपोतहरू, हजारौँ सेना र एफ–३५ स्टिल्थ जेटहरू क्यारिबियनमा तैनाथ गर्यो ।
२२ नोभेम्बर : अमेरिकाको संघीय उड्डयन प्रशासनले हस्तक्षेपसहित ‘बढ्दो सैन्य गतिविधि’का कारण भेनेजुएलाको हवाई क्षेत्रमा खतराबारे एयरलाइन्सहरूलाई चेतावनी दिँदै एयर मिसनलाई सूचना (एनओटिएएम) जारी गर्यो । एयरलाइन्सहरूले भेनेजुएलाका उडान स्थगित गरे ।