डिफेन्डिङ च्पाम्पियन विभागीय सशस्त्र प्रहरीको नेपालको एपिएफ क्लब ३३औँ त्रिवेणी कपको फाइनलमा प्रवेश गरेको छ ।
त्रिवेणी युवा क्लबको आयोजनामा लमजुङको बेँसीसहरस्थित त्रिवेणी रंगशालामा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपिएफले लमजुङको मर्स्याङ्दी युवा क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको हो ।
अन्तिम दुईमा प्रवेश गरेको एपिएफले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र लाङ्दीदेवी युवा क्लब नाल्माबिच हुने खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ्। फाइनल खेल सोमबार हुँदै छ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट समान एक-एक गोल भएपछि निर्णयका लागि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा एपिएफका लागि अनिश घर्ती, सन्तोष खत्री, युवराज खड्का र विश्वास उदासले गोल गर्दा दीपेश धिमाल र महेश लामाको प्रहार खेर गएको थियो । मर्स्याङ्दीका अरोन थापा, विलियम एलेन र निग्मा मगरले गोल गर्दा पोषण थापा, अभिषेक महतो र अविनाश स्याङ्तानले गोल गर्न चुकेका थिए ।
टाइब्रेकरमा धकेलिनुअघि खेलको ४१औँ मिनेटमा मर्स्याङ्दीले अग्रता लिएको थियो । ओलावले अफिजको गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलमा अग्रता लिएको मर्स्याङ्दीले अग्रता जोगाउन नसक्दा दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा एपिएफका मानबहादुर रानाले बराबरी गोल गरेपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
यसअघि खेलको ८८औँ मिनेटमा मणिकुमार लामाले रातो कार्ड पाएपछि एपिएफ १० खेलाडीमा सीमित बन्न पुगेको थियो । १० खेलाडीमा सीमित एपिएफले खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै आफ्नो पक्षमा पारेको थियो ।
१२ पुसदेखि जारी प्रतियोगितामा लिग च्याम्पियन चर्च बोइज, काठमाडौंस्थित चित्लाङ फुटबल क्लब, न्युरोड फुटबल क्लब, एपिएफ, सातदोबाटो फुटबल क्लब, टोखा भगवती फुटबल क्लब, अयोजक, मर्स्याङ्दी, बुद्ध युथ क्लब भोटेओडार, लाङ्दीदेवी, लालीगुराँस युवा क्लब भुजुङ, ठडाराई अधिकारी समाज दिहीथोक, सूर्यपुर फुटबल क्लब चितवन, चक्रपथ युथ क्लब काठमाडौं, रड्स रामपुर फुटबल क्लब रामपुर चितवन र समाज कल्याण युवा क्लब काठमाडौंले गरि १६ टोली सहभागी रहेका आयोजक क्लबका अध्यक्ष टेकजंग गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १२ लाख, उपविजेताले ६ लाख नगदसँगै ट्रफी, मेडर र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५-२५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा प्रत्येक खेलका म्याद अफ दि म्याचले १० हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।