नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सह–संयोजक माधवकुमार नेपालले २३ भदौमा भएको जेन–जी आन्दोलनमा सरकारले गरेको बल प्रयोग आपत्तिजनक रहेको बताएका छन् ।
नेकपा धनकुटाको पार्टी एकता सभालाई आज सम्बोधन गर्दै सह–संयोजक नेपालले २३ भदौमा जेन–जी युवामाथि सरकारले गरेको बल प्रयोग र २४ भदौमा जेन–जीको नाममा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि भएको तोडफोड र आगजनी दुवै आपत्तिजनक भएको बताए ।
जेन–जी आन्दोलनको नाममा सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी भवन तथा नेताहरूको घर जलाएर ध्वस्त पारिएकोमा आपत्ति प्रकट गर्दै ती घटनाको उनले निन्दा गरे ।
पूर्वप्रधानमन्त्री नेपालले अर्को प्रसंगमा नेपाली युवाहरुलाई स्वरोजगार बनाउने र समृद्ध नेपाल बनाउने योजना नेकपामा मात्र भएकाले आमनागरिकहरुलाई एकताबद्ध हुन आग्रह गरे । यो मुलुकलाई बनाउने संकल्प बोकेर विभिन्न पार्टी नेकपामा सम्माहित भएको उल्लेख गरे ।
पार्टी एकता सभामा नेकपाका नेता हरिबोल गजुरेल, राजेन्द्रकुमार राईलगायतले बोलेका थिए । भोलिको पार्टी एकता सभा सुनसरीको इटहरीमा हुने नेकपा जनाएको छ ।