स्वस्थानी कथा : व्रत बस्न होइन, समाज बुझ्न पढ्नुपर्ने

स्वस्थानी कथा कर्मकाण्डी पुरुषहरूले नै लेखेका हुन्

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण
  • स्वस्थानी कथा आज पनि वाचन हुनु, कथाको महिमा गाइनु, छोरीहरूलाई स्वस्थानी व्रत बस्न आमाहरूले नै उत्प्रेरित गर्नु भनेको हाम्रो समाजशास्त्रीय चिन्तन, हाम्रो विज्ञान सबै फेल भएको हो । 

नेपाली समाजमा जति पनि कथा छन्, एउटा खालको भाष्य निर्माण गरेर मान्छेहरूलाई त्यही भाष्यभित्र बाँध्ने हिसाबले लेखिएका छन् । त्यस्तैमध्ये स्वस्थानी व्रतकथा पनि एक हो । जुन आजभन्दा पाँच सय वर्षअघि लेखियो ।

स्वस्थानी कथा काठमाडौं उपत्यका र वरिपरिका भूभागमा फैलिएको देखिन्छ । यो कथाको प्रभाव उपत्यका, गण्डक क्षेत्र हुँदै पूर्वतिर अथवा मध्य–नेपालसम्म छ । पश्चिम नेपालतिर यसको प्रभाव कम छ । पश्चिम नेपालमा यो कथासँग मिल्दोजुल्दो गौरापर्व प्रचलित छ ।

स्वस्थानी कथाको सुरुवात महिलालाई नैतिक, धार्मिक बन्धनमा बाँध्न, उनीहरूको आचरण, पतिव्रता, छोराको मान्यताजस्ता भाष्य निर्माणका लागि हो । स्वस्थानी कथाले महिलालाई स्वस्थानी व्रत महात्म्य हरेक साँझ–बिहान वाचन गर्ने, अनुष्ठान मान्ने (म अनुशासनमा बाँधिएँ, म असल पत्नी हुँ, म आदर्श नारी हुँ) बनायो । त्यो समयमा उनीहरूसँग शिक्षा थिएन, चेतना थिएन । पण्डित, समाजका टाठाबाठा, गन्यमान्य भनिएका पुरुषले नै स्वस्थानी कथामा भनिएका नियम बनाए । त्यसैले, स्वस्थानी कथा कर्मकाण्डी पुरुषले नै लेखेका हुन् भन्न सकिन्छ । 

पुसको मध्यदेखि माघको मध्यसम्म स्वस्थानी देवीको व्रत बसेमा अनुशासित महिला भइन्छ, धनधान्य भइन्छ, छोरालाई राम्रो हुन्छ, अथवा छोरा जन्माइन्छ, श्रीमान्लाई राम्रो हुन्छ, परिवारको राम्रो हुन्छ भन्ने भाष्य निर्माण भयो । त्यो भाष्यलाई स्वीकार नगर्ने युवा महिलाहरूको संख्या उल्लेख्य छ । तर, कतिपय आमा नै व्रत बस्न लगाउने र हाम्रो छोरी पुस्ताले पनि शिरोधार्य गर्दै स्वस्थानी देवीको पूजा गर्ने, व्रत बस्ने, स्वस्थानी कथावाचन गर्ने गरेको देखिन्छ । नवराजकी आमा गोमाले स्वस्थानी देवीको साधना गरेको हुनाले त्यसको फल नवराजलाई पुगेको र निरन्तर पराक्रमी भएपछि नवराजले राजगद्दीमा बस्न पाएको उल्लेख छ ।

स्वस्थानी कथावाचन गरेमा, व्रत गरेमा सबैलाई राम्रो हुन्छ भन्ने भाष्य निर्माण गरेकाले कथाले विषाक्त र अन्यायी पितृसत्तालाई नै बलियो बनाउँछ । कथामा सतीदेवीलाई विवाह गर्नका लागि शिवले विभिन्न किसिमले छल गरेको देखाइएको छ । छल गरेरै शिवले सतीदेवीसँग विवाह गरे । शिवले सतीदेवीलाई विवाह गरेर लगेपछि झुपडी, जीर्ण, माकुराको जालोले भरिएको र अव्यवस्थित घरको व्याख्या गरिन्छ । दक्ष प्रजापतिजस्तो सम्पन्न र प्रतिष्ठित बुबासँग आफ्नो श्रीमान्को बारेमा प्रतिवाद गरिन् । तर, पार्वतीको पनि अन्तत: शिवसँग विवाह भएको छ । यी कथाले अन्नतोगत्वा पुरुषको बलशाली स्थान देखाउँछ । जहाँ पुगे पनि पुरुषहरू बलशाली छन्, महिलाले पुरुषलाई प्राप्त गर्न पुरुषको समृद्धिको लागि आराधना गर्छन् भन्ने कुरा कथामा देखाइएको छ । 

स्वस्थानी कथाको फ्रेमबाट निरीह, लोग्नेमा भर पर्नुपर्ने, छोराले भोलि मलाई पाल्ला, मलाई भरथेग गर्ला मेरो छोराका लागि गर्नुपर्छ भन्ने धैर्यता, सहनशीलता भएका महिला उत्पादन गरेको छ भने छोरीहरूलाई स्वस्थानीको प्रसाद दिनसमेत अयोग्य भनेको छ । स्वस्थानी कथाले नेपाली महिलाको एउटा खास किसिमको मोडल उत्पादन गरेको छ । अहिले पनि स्वस्थानी कथाको महिमा मण्डन गर्दै स्वस्थानी कथा राम्रो हो भन्दै जति महिलालाई व्रत बस्न प्रेरित गरिन्छ, त्यो प्रेरणा भनेको त्यस्तै महिला उत्पादन गर्ने भन्ने नै हो । 

वृन्दालाई विष्णुले छल गरी जालन्धर बनेर शारीरिक सम्बन्ध बनाए । जालन्धरले थाहा पाएपछि उनले आफ्नी श्रीमतीलाई श्राप दिए । एकातिर माता भनेर पार्वतीको पूजा गरिरहेका छौँ । अर्कोतिर ती महिलाको निरीहता त्यो अवस्थासम्म हुन्छ । कथामा विष्णुले गएर छल गरेर जालन्धरको श्रीमतीलाई शारीरिक सम्पर्क गर्न मिल्ने, त्यही कथामा जालन्धरकी श्रीमतीले ‘मेरो श्रीमान् हो भन्ने भ्रममा भएको हो’ भन्ने सम्बन्धको पनि मूल्य तिर्नुपर्यो । पार्वतीको चेतनामा जालन्धरलाई गएर वृन्दालाई मेरो श्रीमान्ले यसो गरेको हो, वृन्दालाई श्राप नदेऊ भनेर कथामा बनाइएन । कथा लेख्नेलाई त्यहाँ जरुरी लागेन । कथामा पार्वतीलाई कसरी शक्तिशाली भन्ने ? पार्वती भनेको शिवको प्रतिछाया हो । धार्मिक मान्यताअनुसार शिव र शक्ति एउटै हो । यी सबैको सारमा महिला पुरुषको जोडाको रूपमा मात्र थिए । उनीहरूको कुनै कुरा निर्णायक हुँदैन थियो भन्ने देखिन्छ । 

कथामा धार्मिक आवरणको चोला पहिराएर महिलालाई तिमीले कष्ट खप्नुपर्छ, तिमीले दु:ख खप्नुपर्छ, त्यसपछि तिमीले सुख प्राप्त गर्छौं भन्छ । कथाअनुसार सतीदेवीलाई तिमी यसरी मर्यौ । तिमीलाई काँधमा राखेर शिवले संसार घुमे । त्यसपछि तिमी पार्वती भएर जन्मियौ । फेरि आफ्नो पतिलाई प्राप्त गर्यौ भनेपछि तिम्रा दु:ख कहीँ जाँदैन । अन्तत: तिमीले सुख पाउँछौ भनेर दु:ख र प्रतीक्षालाई ग्लोरिफाई गर्ने, त्यो प्रतीक्षा फेरि केका लागि भन्दा त्यही पुरुषार्थका लागि । त्यो पुरुषले गर्ने पुरुषार्थ महिलाले गर्ने पुरुषार्थ होइन । पुरुषार्थ भनेको पराक्रमी भने जस्तो देखिए पनि यो पुरुषको पुरुष हुनुको अर्थ भनेको हो । 

धर्मशास्त्रका ज्ञाताले पराक्रम, बल, शौर्य हुनु पुरुषार्थ भन्छन् । उसले आफूलाई कति मर्द, बलियो सावित गर्न सक्छ । अरूभन्दा प्रभावशाली सावित गर्न सक्छ भन्ने कुरातिर लैजाने भयो । स्वस्थानी कथाले महिलालाई धैर्य गर, प्रतीक्षा गर, पर्ख, सहनशील बन भनेर सिकाएको देखिन्छ । यसले महिलालाई निरीह, कष्टमय जीवनको साधना गर्ने, पुरुषका लागि उभिने पात्रका रूपमा देखाएको छ । त्यसबाट प्रताडित हुँदा पनि अनेकौँ बिलौना गरेर रोईकराई गरेर दुनियाँ गर्दा पनि मैले यस्तो भोग्नुपर्यो । वृन्दाले मलाई छल भयो भन्दा पनि मुक्ति पाइनन् । पीडित नै बन्नुपरेको देखिन्छ । 

स्वस्थानी कथा नेपाली समाजमा अहिले पनि आइडल भइरहनु दु:खको कुरा हो । आजको दिनमा पनि स्वस्थानी कथा वाचन हुनु, स्वस्थानी कथाको महिमा गाइनु, छोरीहरूलाई स्वस्थानी व्रत बस्न आमाहरूले नै उत्प्रेरित गर्नु भनेको हाम्रो समाजशास्त्रीय चिन्तन हाम्रो विज्ञान सबै फेल भएको हो । 

कतिपयले यस्ता कुरालाई ‘धर्मलाई चुनौती दिने ?’ भन्छन् । म धर्मको विपक्षमा छैन । यद्यपि, व्यक्तिगत रूपले म धार्मिक होइन । समाज विकसित हुँदाको त्यतिवेलाको समाजको प्रतिक्रियाको रूपमा धर्मको विकास भएको हो । मान्छे आज पनि कोही धार्मिक हुन्छ भने त्यसको सम्मान गर्छु । बहुलवाद विकास गर्ने भनेको त्यसरी नै हो । धार्मिक हुन चाहनेले धार्मिक हुन पाउनुपर्छ । धार्मिक हुन चाहन्न भन्नेलाई पनि त्यत्तिकै अधिकार र सम्मानसहित गैरधार्मिक हुन पाउनुपर्छ भन्ने मेरो मान्यता हो । आज पनि स्वस्थानीलाई राम्रो हो भनिरहेका छौँ भने धर्म नै मान्ने मान्छेले पनि धर्मको वैज्ञानिकताबारे बुझन् सकिरहेको छैन ।

स्वस्थानी कथाले समाजमा पितृसत्तालाई नै बलियो बनाउँछ । तर, अझै पनि स्वस्थानी कथाको महिमा गाएर यसको वाचन गरिरहनु ठुलै विडम्बना हो । समाजको स्वरूप बुझ्न स्वस्थानी कथा पढ्नुपर्छ । समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्रको विद्यार्थीले पढ्नुपर्छ । स्वस्थानी कथा पढ्नका लागि ठिक छ । यसले समाजका सबै एकाइलाई, खासगरी ब्राह्मण, क्षेत्री समुदायलाई यसरी निर्देशित गथ्र्याे भनेर थाहा पाउन पढ्नुपर्छ । स्वस्थानी कथाको पुनर्पठन पनि हुनुपर्छ । व्याख्या गर्ने कुरामा चाहिँ सही छ, काम लाग्ने छ भनेर होइन कि नेपाली महिलाको चिन्तन, जीवन व्यवहार, बाँच्ने शैली, तिनीहरूको विश्वासलाई कसरी निर्माण गरियो भनेर पढ्ने हो । अहिले पनि स्वस्थानी भन्नेबित्तिकै जीवनको धेरै ठुलो मार्ग हो, स्वस्थानी कथा पढेपछि मोक्ष प्राप्त हुन्छ, कथा पढेपछि धेरै ठुलो पुण्य पाउँछु भन्ने बनाइएको छ । समाज चिन्न, नेपाली महिलाको सेटिङ कसरी भयो ? उनीहरूभित्र भाष्य निर्माण कसरी भयो ? अहिलेसम्म पनि कसरी काम गरेको छ ? भन्ने थाहा पाउन स्वस्थानी कथा पढ्नुपर्छ ।

प्रस्तुति : शान्ति तामाङ

सुझावित समाचार