जाडोयाममा धेरैजसोले आगो ताप्ने गर्छन् । बन्द कोठामा कोइला बालेर सुत्दा निस्सासिएर मानिसको मृत्यु हुने गरेको छ। कोठा न्यानो बनाउन कोइला बालेर सुतेकाे अवस्थामा बिहीबार मात्र सुर्खेतमा ३८ दिनका शिशुको ज्यान गएको छ। आमा र भतिजी बेहोस अवस्थामा फेला परे। जाडोयाममा आगो तथा कोइला बालेर सुत्दा घटना हुने गरेका छन्।
आगोबाट कार्बनमोनोअक्साइड ग्यास निस्किन्छ, अक्सिजन कमी भइदिन्छ। अक्सिजन र कार्बनमोनोअक्साइड हाम्रो रगतमा गएर मिसिएर हेमोअक्सिजन बन्छ। कार्बनमोनोअक्साइड हेमोग्लोबिनमा बस्छ र रक्त कोशिकासम्म पुग्छ। त्यसो हुँदा रक्तकोशिका थुनिन्छन्। त्यसपछि फोक्सोमा समस्या उत्पन्न भएर मानिसको मृत्यु हुन्छ। बढी निस्सासिएपछि मृत्यु हुने हो।
त्यसकारण सकेसम्म बन्द कोठामा आगो बाल्नुहुँदैन। बालिहाले पनि झ्याल खुला राख्नुपर्छ। यसबाहेक आगोको झिल्का लुगामा सल्किएर घटना हुने गरेका छन्। आगो ताप्दा आगोतिर फर्किएर ताप्नुपर्छ, आगोतिर ढाड फर्काएर ताप्नुहुन्न। आगो ताप्दा तीन फिट ढाटा बस्नुपर्छ र त्यस्तै कुनै प्रज्ज्वलनशील वस्तु राख्नुहुँदैन।
(डा. किरण नकर्मी कीर्तिपुर अस्पतालका निर्देशक हुन्।)