नासा कलेज नयाँ व्यवस्थापनसहित सञ्चालनमा

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

शिक्षा क्षेत्रमा गुणस्तरीय, व्यवहारिक र समयसापेक्ष शिक्षा प्रदान गर्ने उद्देश्यसहित नासा कलेज नयाँ व्यवस्थापन, आधुनिक भवन र सुदृढ शैक्षिक पूर्वाधारसहित सञ्चालनमा आएको छ। कलेजले शैक्षिक, भौतिक तथा व्यवस्थापकीय संरचनामा सुधार गर्दै आफ्नो शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाएको जनाएको छ।

नयाँ व्यवस्थापनको नेतृत्वमा कलेजले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको चौतर्फी विकास, अनुशासन र पारदर्शितालाई मुख्य प्राथमिकतामा राखेको छ। विद्यार्थीकेन्द्रित शिक्षण पद्धति, शिक्षकको क्षमता अभिवृद्धि, नियमित मूल्याङ्कन प्रणाली तथा अभिभावकसँगको सहकार्यलाई विशेष महत्व दिइएको व्यवस्थापनले जनाएको छ।

हालै सञ्चालनमा आएको नयाँ भवन आधुनिक शैक्षिक मापदण्डअनुसार निर्माण गरिएको हो। प्रविधिमैत्री कक्षाकोठा, सूचना प्रविधिमा आधारित शिक्षण प्रणाली, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यवस्थित पुस्तकालय, स्वच्छ क्यान्टिन र सुरक्षित क्याम्पस संरचनाले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने कलेजको दाबी छ।

नासा कलेजमा हाल कक्षा ११ र १२ तहमा विज्ञान र व्यवस्थापन संकायको अध्ययन–अध्यापन भइरहेको छ। साथै स्नातक तहमा व्यवस्थापन विषयअन्तर्गत बीबीएस तथा समाजकार्य विषयअन्तर्गत बीएसडब्लु कार्यक्रम सञ्चालनमा रहेका छन्। आगामी शैक्षिक सत्रदेखि कानुन र मानविकी विषयका कक्षासमेत सञ्चालन गर्ने तयारी गरिएको कलेजले जनाएको छ।

शैक्षिक अध्ययनसँगै सह–पाठ्यक्रम गतिविधि, करियर परामर्श तथा व्यक्तित्व विकास कार्यक्रममार्फत विद्यार्थीलाई सक्षम, प्रतिस्पर्धी र जिम्मेवार नागरिक बनाउने लक्ष्य कलेजले लिएको छ।

कलेजका प्रबन्ध निर्देशक दीपक न्यौपानेका अनुसार नयाँ व्यवस्थापनसँगै नासा कलेजलाई गुणस्तरीय शिक्षाको विश्वासिलो केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन योजना अघि सारिएको छ।

सुझावित समाचार