पहिलो दिनदेखिको अग्रता रक्षा गर्दै एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । राहुलले एकैपटक प्रोफेसनल तथा एमेच्योर विधाको उपाधि जितेका हुन् । उनको करिअरको यो तेस्रो उपाधि हो । उपाधि रक्षा गर्ने क्रममा उनले प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरले हराए । प्रतियोगिताको अन्तिम दिन बिहीबार ४ अन्डर ६८ स्कोर गरेका राहुलले समग्रमा १४ अन्डर २७४ को कार्ड लेखाए । जयरामले निर्णायक दिनमा खराब प्रदर्शन गर्दै ५ ओभर ७७ स्कोर गर्दा समग्रमा इभन पार २८८ कार्डसहित दोस्रो स्थान रक्षा गरेका छन् । प्रोफेसनलतर्फ पहिलो भएका जयरामले एक लाख ७० हजार रुपैयाँ जितेका छन् ।
समग्रमा २ ओभर २९० को स्कोरमा तोरणविक्रम शाही र भुवन नगरकोटी संयुक्त रूपमा तेस्रो स्थानमा रहे । तोरणले इभन पार ७२ र भुवनले ४ अन्डर ६८ स्कोरमा चौथो दिनको खेल सकाए । दुवैले एक लाख १२ हजार पाँच सय रुपैयाँ हात पारे । नेपालका नम्बर एक प्रोफेसनल खेलाडी नीरज तामाङ पाँचौँ स्थानमा सीमित भए । उनले समग्रमा ३ ओभर २९१ को स्कोर गरेका थिए । समग्रमा ४ ओभर २९२ को स्कोरमा भुवनकुमार रोका, शुक्रबहादुर राई, दिनेश प्रजापति र एमेच्योर रुबेन थापा संयुक्त रूपमा छैटौँ भए । रुबेन २ अन्डर ७० स्कोरका साथ एमेच्योरतर्फ दोस्रो भए । अर्का एमेच्योर साम डोबलार्ड दसौँ भएका छन् । उनले समग्रमा ८ ओभर
२९६ स्कोर गरे ।
सुरुवातमै ५ स्ट्रोकको अग्रता
प्रतिस्पर्धाको अन्तिम १८ होलको सुरुवात गर्दा राहुलले ५ स्ट्रोकको अग्रता लिएका थिए । यही अग्रताका कारण उनलाई अन्य खेलाडीले चुनौती दिन सकेनन् । फ्रन्ट नाइन ३ अन्डर ३३ खेलेपछि राहुलले उपाधि जित्ने लगभग निश्चित भएको थियो । उनले दोस्रो स्थानका खेलाडीलाई कति स्ट्रोकले पछाडि राख्ने निर्णय हुन बाँकी थियो । राहुलले दोस्रो, तेस्रो, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरे । उनले १७औँ होलको बोगीविरुद्ध १२औँ र १५औँ होलको बर्डीले ब्याक नाइन १ अन्डर ३५ स्कोर गरे । जयरामले फ्रन्ट नाइन इभन पार ३६ मा सकाउने क्रममा पहिलो र दोस्रो होलमा लगातार दुई बर्डी प्रहार गरे । तेस्रो र सातौँ होलमा समान एक सट खेर पठाएका उनले ब्याक नाइन अत्यन्तै कमजोर बन्यो ।