कोशी गाउँपालिका– १ लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट रिक्साचालक विजय साहको मृत्यु भएको छ । सुनसरीकै कोशी गाउँपालिका– १ पुरीटोलस्थित चेक प्वाइन्टमा बुधबार राति सशस्त्र प्रहरीको गोली प्रहारबाट उनको मृत्यु भएको हो । प्रहरीले तस्करी नियन्त्रणका क्रममा भएको गोली प्रहारबाट साहको मृत्यु भएको बताएको छ । तर, तस्कर र सशस्त्र प्रहरीसँगको मिलेमतोमा कुरा नमिलेपछि गोली प्रहार गरेको स्थानीयको आरोप छ । सशस्त्र प्रहरीले भने तीनवटा रिक्सा सँगै आएको र रिक्साचालकहरूकै साइडबाट सुरुमा गोली प्रहार गरेपछि आत्मरक्षाका लागि गोली प्रहार गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र खड्काका अनुसार गोली प्रहार बुधबार राति १ बजेतिर भएको थियो । ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई रिक्सामा आएकाबाटै गोली प्रहार भएपछि जवाफी गोली प्रहार गरेको भन्ने सूचना आएको उनले बताए । ‘सशस्त्र प्रहरीका अनुसार जवाफी कारबाहीस्वरूप गोली प्रहार भएको भन्ने सूचना आएको छ,’ डिएसपी खड्काले भने, ‘घटनास्थलको अवस्था हेर्दा गोलीका दुईवटा खोका भेटिएको छ ।’ उनका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
गोली प्रहार गर्ने सशस्त्र प्रहरीका हवल्दार नवराज खतिवडा पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए । रिक्साचालक साहको मृत्यु भएपछि आफन्त तथा स्थानीयले मुख्य राजमार्गमा प्रदर्शन गर्दा बिहीबार दिउँसो केही समय स्थिति तनावग्रस्त बनेको थियो । ठुलो संख्यामा आएका स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाईफायरसमेत गरेको थियो । पछि प्रदर्शनलाई समाधान गर्न प्रशासन र स्थानीयबिच पाँचबुँदे सहमति भएको थियो । छानबिन समिति गठन गर्ने सहमतिपछि स्थानीयले गरेको प्रदर्शन रोकिएको छ । रिक्साचालक कोशी गाउँपालिका– १ का ४५ वर्षीय साहको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य तथा विज्ञान प्रशिक्षण प्रतिष्ठान धरान लगिएको छ ।
पाँचबुँदे लिखित सहमतिपछि रोकियो प्रदर्शन
जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेतृत्वमा भएको छलफलपछि प्रदर्शन रोकिएको थियो । प्रजिअ घिमिरेसहित स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, पीडित तथा आफन्तलगायतको उपस्थितिमा भएको छलफलमा पाँचबुँदे लिखित सहमति भएको छ । छलफलमा घटनाको छानबिन गरी राहतका लागि सिफारिस गर्ने र पीडित परिवारलाई रोजगारीको ग्यारेन्टी गर्नेलगायत विषय समावेश छन् । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
त्यसैगरी छानबिन समितिको प्रतिवेदनमा सुरक्षा अधिकारीको लापरबाही देखिएमा नियमानुसारको राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको छ । मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले आवश्यक पहलकदमी र सहजीकरण गर्ने सहमति भएको छ । मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखे सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग र सहजीकरण गर्ने सहमति भएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र त्यसपछि परिवारले दाहसंस्कार गर्ने सहमति भएको छ । छलफल र सहमतिपछि राजमार्गमा भएको प्रदर्शन रोकिएको थियो ।