पाँचौँपटक थपिएको म्याद सकिँदा पनि बनेन संसद् भवन

१ असोज ०७६ मा तीन वर्षभित्र निर्माण सक्ने गरी शिलान्यास, पाँचौँपटक थपिएको ठेक्काको म्याद पनि बिहीबार सकिएपछि असारसम्म म्याद थप्ने तयारी

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण
पाँचौँपटक थपिएको म्याद सकिँदा पनि बनेन संसद् भवन

तस्बिर :अमुल थापा/नयाँ पत्रिका

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भवन पाँचौँपटक थपिएको म्याद सकिँदा पनि बनेन । पाँचौँपटक थपिएको म्याद बिहीबार सकिँदा ८९ प्रतिशत मात्रै प्रगति भएको हो । ठेकेदार कम्पनी तुँदी–शेक जेभीले अझै नौ महिना समय थप्न माग गरेको छ । सरकारले भने आगामी असारसम्मका लागि छैटौँपटक म्याद थप्ने तयारी गरेको छ ।

तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का लागेको भवन सात वर्ष बितिसक्दा पनि पूरा नभएको हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले १ असोज ०७६ मा भवनको शिलान्यास गरेका थिए । भवन निर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभागको हो । विभागका महानिर्देशक रवीन्द्र बोहराले आगामी असारसम्म समय लाग्न सक्ने बताए ।

‘नयाँ संसद् भवनको भौतिक प्रगति करिब ९० प्रतिशत छ । निर्माण व्यवसायीबाट थप नौ महिना माग भएको छ । कति सयम थप्दा ठिक हुन्छ भनेर हामी विश्लेषण र छलफलमै छौँ,’ उनले भने, ‘१२ वटा बिल्डिङको फिनिसिङको काम बाँकी छ । इन्टेरियरको काम पनि सुस्त नै हुने भएकाले समय लाग्छ । आगामी असारसम्म सम्पन्न हुने हाम्रो अनुमान छ ।’ आर्थिक हिसाबकिताबतर्फ भने साढे पाँच अर्बमा डेढ अर्ब मात्रै दिन बाँकी रहेको बोहराले बताए । 

जेन–जी आन्दोलनपछि नागरिक सरकारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेर पुसभित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । त्यसपछि मन्त्री घिसिङ छड्केमा पनि पुगेर श्रमिक र कामको सिफ्ट बढाउन निर्देशन दिएका थिए । तर, यति गर्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन । घिसिङजस्तै यसअघिका विभागीय मन्त्रीहरू, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, संसदीय समितिदेखि राष्ट्रपतिसम्मले निर्माणाधीन भवनको अवलोकन गरेर चाँडो सकाउन निर्देशन दिएका थिए । 

जेन–जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा आगजनी भएपछि संसद् बैठक बस्न हल छैन । प्रतिनिधिसभा विघटन भई आगामी २१ फागुनका लागि निर्वाचन घोषणा भएको छ । निर्वाचनको नतिजा नआउँदासम्मलाई प्रतिनिधिसभा छैन । तर, नयाँ प्रतिनिधि चुनिएर आउँदा पनि संसद् हल नबन्ने चिन्ता बढ्न थालेको छ । त्यसो त, सधैँ कायमै रहने राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी हुँदा पनि बस्ने हल छैन । यद्यपि, संसद् सचिवालयपरिसरको कृषि समितिको हललाई पुनर्निर्माण गरेर राष्ट्रिय सभाका लागि तयार पारिँदै छ । यदि तोकिएको समयमै नयाँ संसद् भवन बनेको भए अर्को तयारी गर्नुपर्ने थिएन । 

विभागका महानिर्देशक बोहराका अनुसार दुई प्याकेजमा काम भइरहेको छ । मुख्य भवनको काम तुँदी–शेक जेभीले गरिरहेको छ भने इन्टेरियर, फल्स सिलिङ, फर्निचर, डिभाइस, कम्प्रेसलगायतको काम श्यामसुन्दर बानियाँ प्रालिले गरिरहेको छ । अहिले भवनभित्र फायर फाइटिङ, सिस्टम जडान प्रक्रिया, इलेक्ट्रिक्सको काम, स्लिपर सिस्टम, पाइपलाइन, इन्टेरियर वाल, मार्बल ग्रेनाइट हाल्ने काम भइरहेको छ ।

त्यस्तै, सेन्ट्रल डोमको ट्रसको काम सकेर छानाको कभरिङ सुरु हुँदै छ । फर्निचरहरू धमाधम बनाउने र फिटिङ गर्ने काम भइरहेको छ । कन्फ्रेसिन्ङ सिस्टमको डिभाइस, सेक्युरिटी सिस्टम, बडी स्क्यानर ल्याउने तयारी छ । मुख्य हलहरूको फल्स सिलिङको काम पनि भइरहेको छ । बोहराले भवनपरिसरको बाटोमा ग्राभेल सकिएको र सेभिङ गर्ने काम भइरहेको बताए । पार्किङको पनि फल्सको काम भइरहेको र बगैँचामा दुबो रोप्ने काम भने भइसकेको उनको भनाइ छ । 

१५१ रोपनी क्षेत्रफलमा निर्माणाधीन भवनमा आठ ब्लक छन् भने १२ छुट्टाछुट्टै भवन छन् । जहाँ चार सय सिट क्षमताको प्रतिनिधिसभा र एक सय सिट क्षमताको राष्ट्रिय सभा हुनेछ । मुख्य भवनसँगै सहायक भवनहरू छन् । जहाँ संसदीय दलको कार्यालय, समितिको हल, दुइटा संसद् सचिवालय भवन, पुस्तकालय, संग्रहालय, चमेनागृहलगायत रहनेछन् । भिभिआइपीका लागि छुट्टै भवन, सुरक्षाकर्मी बस्ने ठाउँसहित संरचना तयार हुँदै छ । 

 ठेकेदार कम्पनीले फेरि माग्यो थप नौ महिना समय
जेन–जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा आगजनी भएपछि संसद् बैठक बस्न हल छैन । प्रतिनिधिसभा विघटन भई आगामी २१ फागुनका लागि निर्वाचन घोषणा भएको छ । निर्वाचनको नतिजा नआउँदासम्मलाई प्रतिनिधिसभा छैन ।

१ असोज ०७६ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शिलान्यास भएको सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको पाँचौँपटक थपिएको म्याद पनि बिहीबार सकिँदा भवनको भौतिक प्रगति करिब ९० प्रतिशत मात्रै भएको छ ।

ठेकेदार कम्पनी तुँदी–शेक जेभीले अझै नौ महिना समय थप्न माग गरेको छ । सरकारले भने आगामी असारसम्मका लागि छैटौँपटक म्याद थप्ने तयारी गरेको छ । त्यसैले नयाँ प्रतिनिधि चुनिएर आउँदा पनि संसद् हल नबन्ने चिन्ता बढ्न थालेको छ । भवन निर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभागको हो । विभागका महानिर्देशक रवीन्द्र बोहराले आगामी असारसम्म समय लाग्न सक्ने बताए ।

राष्ट्रिय सभाको अल्पकालीन हल अन्तिम चरणमा : साउन्डसिस्टम जडान गरेर आइतबार डेमो लिने तयारी 
नयाँ भवनमा हल तयार नहुँदासम्मका लागि राष्ट्रिय सभा सञ्चालन गर्न भने सिंहदरबारभित्रै कृषि समितिको हललाई परिमार्जन गरिँदै छ । २३ र २४ भदौको जेन–जी आन्दोलनमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन आगजनीले ध्वस्त भएसँगै सधैँ कायमै रहने राष्ट्रिय सभाको बैठक बस्ने ठाउँ छैन । सिंहदरबारमा कृषि समितिको हललाई परिमार्जन गरेर राष्ट्रिय सभाका लागि तयार पारिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । साउन्डसिस्टमहरू जोडेर आइतबार प्रारम्भिक परीक्षण गरिने उनको भनाइ छ । 

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले दुई दिनअघि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हिउँदे अधिवेशन आह्वान गर्न आग्रह गरिसकेका छन् । कांग्रेसले हिउँदे अधिवेशन बोलाउन अध्यक्ष दाहाललाई ज्ञापनपत्र नै दिएको छ । हल तयार भएपछि पुसको अन्तिम साता अधिवेशन बोलाउने सरकारको तयारी छ । 

सुझावित समाचार