आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा ११९ वटा मतदानस्थल र १६६ वटा मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका ११९ वटा मतदानस्थलमध्ये सुरक्षाको हिसाबले ५४ वटा सामान्य, ४९ वटा संवेदनशील र १६ वटा अतिसंवेदनशील सूचीमा राखिएको छ ।
उक्त तोकिएका मतदानस्थल र मतदान केन्द्रमध्ये धनकुटा नगरपालिकामा १५ मतदानस्थलमा २९ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ मतदानस्थलमा २७ मतदान केन्द्र र पाख्रीबास नगरपालिकामा १५ मतदानस्थलमा २३ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।
त्यसैगरी, चौबिसे गाउँपालिकामा २१ मतदानस्थलमा २४ मतदान केन्द्र र साँगुरीगढी गाउँपालिकामा २१ मतदानस्थलमा २६ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए । त्यस्तै, छथरजोरपाटी गाउँपालिकामा १२ मतदानस्थलमा १८ मतदान केन्द्र र सहिदभूमि गाउँपालिकामा १४ मतदानस्थलमा १९ मतदान केन्द्र तोकिएको छ ।
धनकुटामा अघिल्लो निर्वाचनमा ११९ मतदानस्थल र १६२ मतदान केन्द्र तोकिएको थियो । यसपटक बढाएर चारवटा मतदान केन्द्र कायम गरिएको छ। धनकुटामा प्रतिनिधिसभातर्फ एकवटा र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।