पोखरामा मिलेमतोमा गैरसुकुम्बासीलाई तीन रोपनी जग्गा, कर्मचारीसहित ६ विरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

पोखरामा मिलेमतोमा गैरसुकुम्बासीलाई तीन रोपनी जग्गा दिएको पाइएपछि त्यसमा संलग्न कर्मचारीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। भूमि आयोगका अध्यक्ष र पदाधिकारी, मालपोत प्रमुख र जग्गा लिनेसहितलाई प्रतिवादी कायम गरेर अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कास्कीको साविक कन्धानीडाँडा गाविस- ४ (हाल पोखरा महानगरपालिका–१६ स्थित अमरज्योति आधारभूत विद्यालय परिसर)को तीन रोपनी तीन आना जग्गा गैरसुकुम्बासी भीमबहादुर विकलाई दिने निर्णय गरी जग्गाधनी प्रमाणपूर्जा दिइएको थियो। विगतको भूमि समस्या समाधान आयोगको अधुरो कामअन्तर्गत सुकुम्बासी समस्या समाधान आयोग समिति कास्कीले १२ भदौ ०५२ मा निर्णय गरी कित्ताकाट भई निर्णय कार्यान्वयन हुन बाँकी रही अधुरो रहेको झुट्टा व्यहोरा उल्लेख गरी ५ चैत ०८० मा जग्गाको श्रेष्तापूर्जा प्रमाणित गराई जग्गाधनी प्रमाणपूर्जा दिइएको थियो।

गैरसुकुम्बासीलाई जग्गा दिन निर्णय प्रक्रियामा संलग्न राष्ट्रिय भूमि आयोगका पदाधिकारी, कर्मचारी र जग्गाधनीलाई अख्तियारले प्रतिवादी कायम गरेको छ। अख्तियारले राष्ट्रिय भूमि आयोग कास्कीको जिल्ला समितिका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, आयोगका सदस्य तथा मालपोत कार्यालय पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन जिल्ला सदस्य आशबहादुर गुरुङलाई अख्तियारले प्रतिवादी कायम गरेको छ।

उनीहरूविरुद्ध जनही एक करोड ४० लाख २५ हजार बिगो कायम गरिएको छ। त्यस्तै, आयोगकै तत्कालीन सदस्यद्वय उमा कुमारी थापा र सोमबहादुर नेपालीलाई पनि संयुक्त एक करोड ४० लाख २५ हजार बिगो कायम छ। जग्गा प्राप्त गरेका भिमबहादुर पनि एक करोड ४० लाख २५ हजार बिगोसहित प्रतिवादी छन्।

यस मुद्दामा प्रतिवादी बनाइएका तत्कालीन मालपोत प्रमुख अधिकारी यसअघि सामान्य प्रशासन मन्त्रीसमेत जोडिएका लिचीबारी जग्गा भ्रष्टाचार मुद्दाकासमेत प्रतिवादी हुन्। उक्त मुद्दामा अधिकारीविरुद्ध ५३ लाख रुपैयाँ बिगो छ।

सुझावित समाचार