उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन दिन अघिदेखि सुरु भएको शीतलहरले अत्यधिक चिसो बढाएसँगै विद्यालयहरूमा तीन दिन लागि बिदा दिइएको हो ।
भित्री मधेशमा पर्ने कटारी नगरपालिका, त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकामा चिसोको कारण तीन दिन बिदा दिइएको छ । चिसोको कारण बालबालिकाको स्वास्थ्यमा असर पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिइएको जनाइएको छ ।
मंगलबार चारै नगरपालिकाले सूचना जारी गर्दै पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बुधबारबाट तीन दिन बिदा दिएको जनाएका छन् ।
पालिकाहरूले बर्खे र हिउँदे बिदाबाट कट्टा हुने गरी नियमित पठनपाठन कार्य बन्द गरिएको उल्लेख गरेका छन्। उदयपुरमा केही दिनयता चिसो बढेको भए पनि मंगलबारदेखि बढी मात्रमा शीतलहर हुन थालेपछि जनजीवन प्रभावित भएको छ ।