कांग्रेसको बन्दसूचीमा बागमतीका २० जना, काठमाडौंबाट सर्वाधिक ६ जना अटाए

प्रदेशका चार जिल्लाबाट कोही परेनन्

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा बागमती प्रदेशबाट २० जना उम्मेदवार समेटिएका छन्। ११० जनाको बन्दसूचीमा बागमती प्रदेशबाट उल्लेख्य सहभागिता देखिएको हो।

सूचीअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६ जनाको नाम समावेश गरिएको छ। काठमाडौंबाट नियती सिंह, भीमसेनदास प्रधान, नारायण श्रेष्ठ, कमला राजभण्डारी, श्रीविनोद भट्टराई र हरिशरण नेपाली समानुपातिक बन्दसूचीमा परेका छन्।

काठमाडौंपछि नुवाकोट र भक्तपुरबाट तीन–तीनजना बन्दसूचीमा अटाएका छन्। नुवाकोटबाट महेन्द्र थिङ, जगतबहादुर तामाङ र अर्जुननरसिंह केसी चयन हुँदा भक्तपुरबाट विनोदप्रकाश कायस्थ, गणेशमान चक्रधर र डा. गंगालक्ष्मी अवालको नाम सूचीमा परेको छ।

यता, मकवानपुरबाट पवित्रा सुनार र शर्मिला श्रेष्ठ चयन भएका छन् भने धादिङबाट शान्ताकुमारी तामाङ र सेतेमान तामाङ तथा सिन्धुलीबाट नरेन्द्रजंग थापाको नाम पनि समानुपातिक बन्दसूचीमा समेटिएको छ।

यसैगरी, दोलखाबाट छिरिङ डोल्मा शेर्पा, रामेछापबाट ग्याल्जे शेर्पा र रसुवाबाट पेम्बाछिरिङ तामाङको नाम बन्दसूचीमा परेको छ। तर, बागमती प्रदेशभित्रै पर्ने चितवन, ललितपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट भने समानुपातिक बन्दसूचीमा एकजनाको पनि नाम समावेश गरिएको छैन।

नेपाली कांग्रेसले समानुपातिक बन्दसूची समावेशी सिद्धान्तअनुसार विभिन्न समुदाय, वर्ग र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुने गरी तयार गरिएको दाबी गरेको छ।

सुझावित समाचार