पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको बिचभागमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनापछि ट्यांकरबाट ग्यास लिक भइरहेकाले सुरक्षाका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।
मंगलबार बिहान करिब साढे ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बोकेको ट्यांकर अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै ट्यांकरबाट ग्यास चुहिन थालेपछि सम्भावित विस्फोटको खतरा देखिएको र त्यसलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले राजमार्ग ठप्प पारेको जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार ग्यास लिक भइरहेकाले यात्रु तथा स्थानीयवासीको सुरक्षालाई ध्यानमा राख्दै पूर्व–पश्चिम दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। राजमार्ग अवरुद्ध भएपछि पूर्वबाट पश्चिम तथा पश्चिमबाट पूर्वतर्फ आवतजावत गर्ने हजारौँ सवारीसाधन बिचबाटोमै रोकिएका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङले ट्यांकरबाट भइरहेको ग्यास लिक नियन्त्रणमा लिन विज्ञ तथा प्राविधिक टोली बोलाउने प्रक्रिया भइरहेको जानकारी दिइन्। उनका अनुसार अवस्था पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म राजमार्ग खुल्ने सम्भावना छैन। १८ टन ग्यास बोकेको बुलेटको तौल २० टन (ग्यासबाहेक) छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो ६ वटा क्रेनको सहायताले ग्यास बुलेट हटाउने प्रयास गरिएको थियो। साथै सम्बन्धित ग्यास कम्पनीका प्राविधिक कर्मचारीलाई बोलाएर लिक भएको स्थान बन्द गर्ने प्रयास गरिए पनि प्राविधिकहरू ग्यास लिक रोक्ने अवस्था नरहेको भन्दै फर्किएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
मंगलबार बिहान साढे ७ बजेदेखि पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सवारीसाधन सञ्चालन हुन सकेको छैन। साना सवारीसाधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गराइए पनि ठुला मालवाहक गाडीहरू भने दिनभर चन्द्रनिगाहपुर र बागमती क्षेत्रमा रोकिएका थिए। पश्चिमबाट पूर्वतर्फ गइरहेका सवारीसाधनहरूलाई बाराको निजगढमै रोकिएको प्रहरीले जनाएको छ।
साना गाडीहरूलाई चन्द्रनिगाहपुर–बालचनपुर हुँदै जंगलसहिया र धन्सार मार्ग प्रयोग गरी बाराको निजगढतर्फ पठाइएको थियो। यद्यपि, ठुला सवारीसाधनका लागि उपयुक्त वैकल्पिक मार्ग नहुँदा यात्रु तथा चालकहरूलाई ठुलो समस्या परेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार मंगलबार साँझ ८ बजेदेखि पूर्व–पश्चिम हाइटेन्सन विद्युत् लाइन काटेर ग्यास बुलेट हटाउने प्रयास गर्ने तयारी गरिएको छ। उनका अनुसार ग्यास बुलेट पल्टिएको अवस्थामा रहेको र पल्टिएकै तल्लो भागबाट ग्यास लिक भइरहेको हुँदा त्यसलाई टाल्न निकै जटिल देखिएको छ।
प्रहरी निरीक्षक थापा मगरले ग्यास बुलेट पल्टाउँदा विस्फोट हुने उच्च जोखिम रहेकाले सावधानीपूर्वक काम भइरहेको बताए। प्राविधिकहरूका अनुसार ग्यास बुलेट सिधा पार्ने प्रयास गर्दा विस्फोटको सम्भावना रहेकाले हालको अवस्थामा ग्यास लिक भएरै बिस्तारै सकिन दिनुबाहेक तत्काल सुरक्षित विकल्प नरहेको प्रहरीको भनाइ छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुर्घटनास्थलआसपास राजमार्गको दुवैतर्फ करिब पाँच किलोमिटर क्षेत्र खाली गराइएको छ। सुरक्षा सतर्कता बढाइएसँगै स्थानीयवासीलाई पनि सतर्क रहन आग्रह गरिएको प्रहरीले जनाएको छ।
ग्यास बुलेट पूर्ण रूपमा सुरक्षित रूपमा हटाएपछि मात्रै राजमार्ग खुलाइनेछ।