सोमालिल्यान्डको मान्यतामा देखिने इजरायलको व्याकुलता

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण
  • दुई वर्षदेखि विविध मोर्चामा युद्ध लडिरहेको इजरायल एक्लो बन्दै गएको संकेत हो उसको पछिल्लो कूटनीतिक सक्रियता

इजरायलका विदेशमन्त्री गिदोन सा’आरले २६ डिसेम्बरमा सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै अफ्रिकाको सोमालिल्यान्डलाई औपचारिक रूपमा स्वतन्त्र देशको मान्यता दिएको जानकारी दिए । त्यही पोस्टमा सा’आरले छिट्टै एकअर्काको भूमिमा दूतावास खोलिने पनि बताएका थिए । सोमालियाबाट सन् १९९१ मा एकतर्फी रूपमा अलग्गिएको घोषणा गरेको सोमालिल्यान्डलाई हालसम्म कुनै पनि देशले मान्यता दिएका थिएनन् । 

त्यसअघि १८ डिसेम्बरमा विदेशमन्त्री सा’आरले नै जेरुसेलममा फिजीको दूतावास खोलिने र फिजीमा इजरायली दूतावास खोलिने जानकारी दिएका थिए । अचानक देखिएको इजरायलको यो कूटनीतिक सक्रियताले के संकेत गर्छ ? केही विज्ञले फिजी र कुनै देशले स्वतन्त्र देश नमानेको सोमालिल्यान्डसँग इजरायलले पारस्परिक दूतावास स्थापना गर्ने सहमति गर्नु कूटनीतिक सफलता नभएको औँल्याएका छन् । बरु, यसले दुई वर्षभन्दा लामो समयदेखि विविध मोर्चामा युद्ध लडेपछि इजरायलले आफूलाई एक्लो महसुस गरेको गहिरो निराशालाई संकेत गर्ने तिनको भनाइ छ । गाजापट्टीमा व्यापक बमबारीपछि निम्तिएको आमविनाश, मृत्यु र भोकमरीले इजरायलका दुई सबैभन्दा महत्वपूर्ण सहयोगीहरू जर्मनी र संयुक्त राज्य अमेरिकामा जनमत उल्लेख्य बदलिएको छ । गाजामाथिको आक्रमण जारी राखेका कारण जर्मनीले इजरायलमाथि आंशिक हतियार प्रतिबन्ध लगाएको छ । युरोपभर वामपन्थी दलहरूले अहिले इजरायलको बहिष्कार र हतियार प्रतिबन्धलाई मुख्य मुद्दा बनाएका छन् ।

अक्टोबरमा समेत गाजामा युद्धविराम नभएको भए, युरोपेली संघले इजलायलविरुद्ध विभिन्न प्रतिबन्ध लगाउने थियो । युद्धविरामपछि पनि इजरायलको कूटनीतिक सम्बन्ध युद्धपूर्वको अवस्थामा फर्किनसकेको छैन । नरसंहारको विषयमा अन्तर्राष्ट्रिय न्यायालयमा परेको मुद्दा अझै चलिरहेकै छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतका न्यायाधीशमाथि प्रतिबन्ध लगाएपछि नेतान्याहुविरुद्धको पक्राउ वारेन्ट रद्द गरिएको छैन । पछिल्लोपटक युद्धविराममा हस्ताक्षर भएदेखि, वेस्ट बैंकमा इजरायली आतंक र जातीय सफाया जोडतोडसाथ चलिरहेको संसारले देखिरहेकै छ । गाजामा पनि युद्धविराम भनिएको छ, तर अझै इजरायली आक्रमण रोकिएको छैन । अक्टोबरयता पनि गाजामा सयौँ नागरिक मारिइसके । 

नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पकै युद्धविराम योजनालाई समेत तोडमोड गर्ने सक्दो प्रयास गरिरहेका छन् । यसमा गाजामा बस्ती विस्तार गर्ने मनसायबारे इजरायली रक्षामन्त्रीको बयान पनि समावेश छ । यही मुद्दामा जर्मन सरकारले इजरायलमाथि तत्काल प्रतिबन्ध लगाउनुपर्ने र हतियार ढुवानी रोक्नुपर्ने जर्मन वामपन्थी पार्टी ‘डाई लिंके’का नेता जान भ्यान अकेनले आह्वान गरे । खासमा भ्यान अकेनको टिप्पणी जर्मन जनतामाझ निरन्तर गति लिइरहेको भावनासँग मेल खान्छ ।

विश्व लहर इजरायली राज्यविरुद्ध उठ्दा यो दबाबसामु कमजोर बन्छ । त्यहाँको विदेश मन्त्रालयलाई यो कुरा राम्ररी थाहा होला । किनकि सन् १९६७ र १९७३ को युद्धपछि इजरायलले यस्तै खराब सम्बन्धको सामना गर्नुपरेको थियो । कमजोर हुँदा गाबोनजस्तो देशसँग पनि झुक्नुपरेको इतिहास छ । 

सन् १९६७ को युद्धपछि, विदेश मामिलामा सम्बन्धविच्छेदको पहिलो लहर सुरु भएको थियो । त्यतिवेला, इजरायलले हरेक सम्भावित माध्यममार्फत थप सम्बन्ध क्षय रोक्ने प्रयास गरेको थियो । हाल सार्वजनिक भएका विदेश मन्त्रालयको सञ्चारअनुसार सन् १९७० मा गाबोनका राष्ट्रपति तथा तानाशाह ओमर बोंगोकी पत्नी जोसेफिन बोंगो इजरायलको भ्रमणका लागि आइपुगेकी थिइन् । भ्रमणमा इजरायलले आफू ओमरको तानाशाही शासनकै पक्ष रहेको देखाउने योजना बनाएको थियो । तर, कार्यक्रम योजनाअनुरूप अघि बढेन । इजरायली प्रधानमन्त्री गोल्डा मेयर मन्त्री इसरायल बर्जिलाईको अन्त्येष्टिमा भाग लिन जोसेफिन बोंगोको सम्मानमा आयोजित चिया पार्टी रद्द गर्न बाध्य भइन् । चियापार्टीमा प्रधानमन्त्रीको अनुपस्थिति र इजरायली मिडियाले आफ्नी श्रीमतीको भ्रमणलाई पर्याप्त महत्व नदिएको थाहा पाएर तानाशाह क्रोधित थिए ।

त्यसलगत्तै उनले आफ्नी श्रीमती मात्र होइन, इजरायलका लागि देशका राजदूतसमेत तत्काल फिर्ता बोलाए । कूटनीतिक सम्बन्ध बिग्रिन लागेपछि इजरायल व्याकुल बन्यो । लामो वार्तापछि इजरायलले ग्याबोनका तानाशाहलाई दुई लाख डलर मूल्यको हतियार र अन्य सैन्य उपकरण उपहारमा दिएपछि बल्ल सम्बन्ध सुध्रिएको थियो । त्यही दौडधुपको प्रतिफलस्वरूप सेप्टेम्बर १९७२ मा संयुक्त राष्ट्र संघ महासभामा ग्याबोन इजरायलविरुद्ध भएको मतदानबाट टाढा रहेको थियो । यति प्रयासका बाबजुद लगभग एक वर्षपछि, ग्याबोन पुन: सन् १९७३ को युद्धपछि इजरायलसँग सम्बन्धविच्छेद गर्ने दोस्रो लहरमा सामेल भयो । 

भविष्यमा इजरायलको विदेश मन्त्रालयले फेरि गाजा युद्ध र यसको परिणामबारे जोडिएका फाइल खोल्दा वा कुनै पत्रकारिताको खोजले ल्याएको सूचनाले इजरायली सरकार विश्वभर आफ्नो कूटनीतिक सम्बन्ध जोगाउन केसम्म गर्न तयार थियो भन्ने खुल्ला । यसैअन्तर्गत हाल मन्त्री सा’आरले ट्विटमार्फत केही देशमा दूतावास खोल्न केसम्म गरिएको थियो भन्ने पनि पर्दाफास होला । 

(म्याक इजरायली मानव अधिकार वकिल तथा अभियन्ता हुन्) 
द वायरबाट

सुझावित समाचार