- २३ भदौको जेन–जी आन्दोलनमा बर्बर दमन गरेर नरसंहार मच्चाएका तत्कालीन गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिए, तर उल्टै आन्दोलनकारी र प्रहरीमाथि दोष थोपरेर उम्किन खोजे
२३ भदौको जेन–जी आन्दोलनमा घातक हतियार प्रयोग गरी १७ युवाको नरसंहार हुँदा गृहमन्त्री रहेका रमेश लेखकले उल्टै आन्दोलनकारी र सुरक्षा निकायलाई दोष दिएर कारबाहीबाट उम्किने प्रयास गरेका छन् । सोमबार जाँचबुझ आयोगमा बयान दिन गएका उनले गोली चलाउन आफूले निर्देशन नदिएकाले दमनमा आफ्नो भूमिका नभएको भन्दै पन्छिने प्रयास गरेका हुन् ।
लेखकले घुसपैठका कारण आन्दोलन हिंसात्मक बनेको दाबी गर्दै त्यसको दोष आन्दोलनकारीलाई दिएका छन् । साथै, सुरक्षाकर्मीलाई गोली चलाउन आफूले निर्देशन नदिएको दाबी गरेका छन् । आयोगमा लिखित धारणासमेत बुझाएका उनले जेन–जी आन्दोलनलाई लोकतन्त्रविरोधी तत्वहरूले ‘हाइज्याक’ गरेको बताए ।
उनले आयोगमा पेस गरेको लिखित धारणा छ, ‘बिहान माइतीघर मण्डलाबाट प्रदर्शन सुरु भयो । कैयौँ विद्यार्थी विद्यालयको पोसाकमै थिए । काठमाडौं जिल्ला प्रशासनबाट प्राप्त जानकारीअनुसार शान्तिपूर्ण प्रदर्शन हुन्छ भन्ने विश्वास आयोजकले दिलाएका थिए । तर, प्रदर्शनमा घुसपैठ भयो । जेन–जी आन्दोलनलाई प्रदर्शनकारीले हाइज्याक गरे ।’ बानेश्वर क्षेत्रमा कसरी गोली चल्यो भन्ने विषयमा मौन बसेर उनले आफूलाई निर्दाेष देखाउने प्रयास गरेका छन् ।
गोली चलाउन आफूले निर्देशन नदिएको उनको दाबी छ । २३ भदौमा बानेश्वर क्षेत्रमा प्रहरीले दिउँसो १ बजेदेखि नै गोली चलाउन थालेको थियो । त्यसपछि आफू र प्रहरी प्रमुख तथा सिडिओबिच भएका कुराकानी उनले खुलाएका छैनन् । त्यो दिन बेलुका मात्र उनले राजीनामा दिएका थिए । बिहान भने क्याजल्टी (हताहती) नहोस् भनेर गृहसचिव र प्रहरी प्रमुखलाई निर्देशन दिएको उनको दाबी छ ।
बानेश्वर क्षेत्रमा गोली चलाउनुअघि सुरक्षा निकायले गृह मन्त्रालयलाई जानकारी गराएरै गोली चलाएको थियो । लेखकले सो घटनाको नैतिक जिम्मेवारी लिएर आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । राजनीतिमा नैतिकता नै मूल्यवान् विषय भएकाले सो घटनामा आफ्नो राजीनामा नै पर्याप्त भएको उनको जिकिर छ ।
बयानका क्रममा लेखकले सोही आन्दोलनपछि अक्सिजनविना आमालाई अस्पताल पुर्याउनुपर्दा मृत्यु भएको भावनात्मक प्रसंग निकालेका थिए । तर, गृह प्रशासनको मूल कमजोरीलाई लुकाउने प्रयास गरे । बयानपछि लेखकले पत्रकार सम्मेलनसमेत गरी सो घटनामा नैतिकबाहेक आफ्नो कुनै जिम्मेवारी नरहेको भन्दै पन्छिएका थिए ।
उनै लेखक प्रतिपक्षमा हुँदा भने निकै आदर्शका चर्का कुरा गर्थे । दुई वर्षअघि संसद्मा उनले एक उर्दु कविता सुनाउँदै तत्कालीन गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका थिए । उनले कविता सुनाएका थिए, ‘तु इधर उधर की न बात कर, ये बता कि काफिला क्युँ लुटा ? मुझे रहजनों से गिला नहीं, तेरी रहबरी का सवाल है’ । अहिले भ्रष्टाचारको विरोधमा कलेज पोसाकमै उत्रिएका विद्यार्थीलाई घातक हतियारबाट गोली प्रहार गरेको घटनाबाट भने उनी पन्छिने प्रयास गरेका छन् ।
२२ भदौमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको र सतर्कता अपनाउन निर्देशन दिएको उनको भनाइ छ । तर, भोलिपल्ट आन्दोलन सुरु भइरहँदा गृहमन्त्री लेखक संसदीय समितिको बैठकमा भाग लिन पुगेका थिए । जसबाट उनले सो आन्दोलनप्रति गम्भीरता नलिएको र त्यसको पूर्वतयारीमा ध्यान नदिएको प्रस्ट हुन्थ्यो । आफ्ना कमजोरी लुकाएर उनले आन्दोलनमा घुसपैठ हुँदा त्यस्तो घटना भएको भनेर दमनको आरोपबाट उम्किने कोसिस गरेका छन् ।
२३ भदौमा सुरक्षाको पूर्वतयारी बलियो नहुँदा आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर संसद् भवनअगाडि पुगेका थिए । त्यसपछि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएका थिए । सोही दिन बानेश्वरमा मात्रै प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा धेरै घाइते भएका थिए । सो दमनको विरोधमा भोलिपल्ट देशभरि आन्दोलन हुँदा तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्थ भएको थियो ।
आयोगका एक अधिकारीका अनुसार सोमबार उनीसँग सामान्य सोधपुछ मात्र भएको छ । विस्तृत बयान अर्काे दिन लिने तयारी छ । लेखकको बयानपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउने आयोगको तयारी छ । यसअघि आयोगले तत्कालीन गृहसचिव, प्रहरी प्रमुखलगायतसँग बयान लिइसकेको छ ।
आन्दोलनमा बल प्रयोग गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाहीको दायरामा ल्याउन ढिलाइ भएको भन्दै सहिदका परिवार, घाइते र जेन–जी अगुवाले आक्रोश व्यक्त गर्दै आएका छन् ।