अछामको ढकारीले बनायो छाउपडी प्रथा निवारण कानुन

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

अछामको ढकारी गाउँपालिकाले छाउपडी प्रथा निवारणका लागी कानुन बनाएको छ । गाउँपालिकाले १६औँ हिउँदे अधिवेशनबाट छाउपडी प्रथा निवारण कानुन ल्याएको हो ।

मर्यादित महिनावरीसम्बन्धी कार्यविधि ०८२ नाम दिएको यस कानुनले सामाजिक सचेतना, जागरणमार्फत छाउपडी प्रथा नियन्त्रणमा मद्दत गर्ने विश्वास गरिएको छ । ढकारीले कार्यविधि कार्यान्वयनका लागी प्रत्येक टोल, वडा र गाउँपालिका स्तरमा समितिहरू गठन गरेर तत्काल काम थाल्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले बताए । उनका अनुसार यो समितिमा धामीझाँक्री, पुजारी र स्थानीयस्तरमा ज्येष्ठ नागरिकलाई समितिमा विशेष भूमिकामा राखिनेछ ।

खासगरी महिला र किशोरीबिच जागरण पुग्नेगरी अन्य क्रियाकलाप समेत सञ्चालन गर्ने तयारी भइरहेको उपाध्यक्ष नेत्रकलादेवी शाहीले बताइन् । यो कानुनसँगै ढकारीले यसपटकको हिउँदे अधिवेशनबाट ६ वटा नयाँ कानुन पास गरेको छ भने १३ वटा प्रस्तावमाथि छलफल गरेर अनुमोदन गरेको छ । यो गाउँपालिले मर्यादित महिनावारी बारे कानुनसँगै अर्को पनि निकै महत्वको कानुन ल्याएको छ ।

गाउँसभामार्फत समुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क पोसाक वितरण गर्नेसम्बन्धी कार्यविधि ०८२ पास गरेर आउँदो आर्थिक वर्षदेखि सरकारी विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई निःशुल्क पोसाक वितरण गरिने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशबहादुर बोहराका अनुसार कर्मचारी, शिक्षक तथा तेस्रो मुलुकमा रोजगारी गर्ने जस्ता रोजगारीमा संलग्नहरूका बालबालिकाले भने यो सुविधा पाउने छैनन् । यी दुईवटा महत्वपूर्ण कानुनसहित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन ०८२, बेरुजु फच्र्यौट कार्यविधि ०८२, गाउँसभा सचिवालय स्थापना र कार्यसञ्चालन कार्यविधि ०८२ तथा लेखा समिति गठन एवं कार्यसञ्चालन कार्यविधि ०८२ समेत पास गरेको गाउँपालिकाका प्रशासन शाखा प्रमुख नविनप्रसाद रिमालले जानकारी दिए । सभामा आर्थिक वर्ष ०८१-८२ को बेरुजु बारेको प्रस्ताव, रकमान्तर, आर्थिक ऐन ०८२ संशोधन, गाउँ कार्यपालिकाका निर्णयहरू, लेखा समिति र सुशासन समिति गठनलगायतका प्रस्तावमा छलफल गरेर अनुमोदन समेत गरेको छ ।
 

सुझावित समाचार