२१औँ लेखनाथ महोत्सव : तीन लाख ३५ हजारले गरे अवलोकन, ११ करोड २० लाखको कारोबार

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

अपेक्षाकृत सफलता हात पार्दै २१औँ संस्करणको लेखनाथ महोत्सव २०८२ सम्पन्न भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ पोखराको लेखनाथमा ३ पुसदेखि सुरु महोत्सव सोमबार सम्पन्न भएको हो।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना एवं गृहलक्ष्मी ग्यास कम्पनीको मुख्य प्रायोजन तथा बिएलसी ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट र हेटौँडा डेरीको सहप्रायोजनमा आयोजना गरिएको महोत्सवमा ११ करोड २० लाखको आर्थिक कारोबार भएको छ।

तीन लाख ३५ हजार दर्शकले महोत्सव अवलोकन गरेका आयोजक संघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समारोह समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन्। आयोजकले महोत्सवको दुई लाख ५० हजार बढि दर्शकले अवलोकन गर्ने र नौ करोड रुपैयाँबरावरको आर्थिक कारोबार हुने अपेक्षा गरेकोमा अपेक्षाभन्दा धेरै दर्शक र कारोबार भएको उनले बताइन्।

महोत्सव समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्ता मेला महोत्सवले वस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताए। जेन-जी आन्दोलनका क्रममा व्यवसायीहरूमा पुगेको क्षति र गिरेको मनोबल उकासी आर्थिक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारेमा अब सबैले सोच्न आवश्यक रहेको उनको भनाइ थियो।

महोत्सव प्रचारप्रसार संयोजक ध्रुवबावु भट्टराईका अनुसार दैनिक उपभोग्य एवं खाद्यान्न, अटो, कृषि, शैक्षिक–ग्रामीण प्रविधि, किचन सामग्री, मेसिनरी, हस्तकला, गार्मेन्ट तथा रेडिमेड, जनरल, फुड एन्ड बेभरेज, कस्मेटिक तथा श्रृंगार, शिक्षा, स्वास्थ्य, खेलकुद, सूचना प्रविधि तथा सञ्चार, फर्निचर, लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, दुग्धजन्य उत्पादन गरी ३३५ स्टल रहेका थिए।
 

सुझावित समाचार