दुई दिनमै नतिजा आएपछि क्रिकेट अस्ट्रेलिया घाटामा

१४२ ओभरमै चौथो टेस्टको नतिजा आएपछि इंग्लिस समर्थकले टिकटको पैसा फिर्ता हुनुपर्ने माग राखेका छन्

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

 अस्ट्रेलिया र इंग्ल्यान्डबिचको एसेज सिरिजअन्तर्गत चौथो टेस्टको नतिजा दुई दिनमै निस्कियो । इंग्ल्यान्डले अस्ट्रेलियामाथि चार विकेटको जित निकाल्यो । अस्ट्रेलियामाथि जित निकाले पनि इंग्ल्यान्डका समर्थक खुसी छैनन् । इंग्लिस समर्थकले आयोजक क्रिकेट अस्ट्रेलियसँग टिकटको पैसा फिर्ता मागेका छन् । उनीहरूले पाँच दिनसम्मकै टिकट किनेका थिए ।

ब्याट्सम्यानभन्दा पनि बलरलाई सहयोगी बनेको पिचमा कुल ३६ विकेट खसेपछि ‘बक्सिङ डे’ टेस्ट रोमाञ्चकभन्दा पनि निराशाजनकका रूपमा परिणत भयो । बक्सिङ डे टेस्ट छिट्टै सकिँदा क्रिकेट अस्ट्रेलियालाई ठुलो आर्थिक नोक्सानी पुगेको छ । तेस्रो दिनका लागि ९० हजारभन्दा बढी दर्शकसहितको टिकट ‘सोल्डआउट’ भएको थियो । यसमा पनि इंग्ल्यान्डका करिब २० हजार समर्थकले टिकट किनेका थिए । खेल नहुँदा उनीहरूले टिकट रिफन्डबाट पैसा फिर्ता मागेका हुन् । 

‘इंग्ल्यान्डका समर्थकले आयोजकसँग तेस्रो दिनकै लागि किनेको टिकट रकम फिर्ता माग गरेका छन्,’ अस्ट्रेलियन एजेन्सी फोक्सले जनाएको छ, ‘उनीहरूका अनुसार आयोजकले बलरमैत्री पिच बनाएका कारण नै दुई दिनमै खेल सकिएको थियो ।’ अर्कोतिर आयोजकले पाँच दिनसम्म टेस्ट चलिरहँदा खाना र पेय पदार्थ बिक्रीबाट ठुलो आम्दानी गर्ने अपेक्षा थियो । तर, दुई दिनभित्र सकिएको टेस्टका कारण कम्तीमा १० मिलियन अस्ट्रेलियन डलरबराबरको घाटा व्यहोर्नुपरेको फोक्सले भनेको छ । ‘आर्थिक रूपमा आयोजक क्रिकेट अस्ट्रेलिया पनि घाटामा जाने पक्का छ,’ फोक्सले जनायो । 

सुझावित समाचार