नेपाल बिमा प्राधिकरणले १० जीवन, ६ निर्जीवन र तीन लघु बिमा कम्पनीको आर्थिक वर्ष ०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ । बिमा ऐन, २०७९ अनुसार प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण भएको वासलात र नाफा–नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र वित्तीय विवरण प्राधिकरणले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।
वित्तीय विवरण स्वीकृत भएका बिमा कम्पनीहरूमध्ये जीवन बिमातर्फ सिटिजन लाइफ, नेपाल लाइफ इस्योरेन्स, आइएमई लाइफ इस्योरेन्स, सानिमा रिलायन्स लाइफ इस्योरेन्स, नेसनल लाइफ इस्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स, सन नेपाल लाइफ इस्योरेन्स, रिलायबल नेपाल लाइफ इस्योरेन्स, सूर्यज्योति लाइफ इस्योरेन्स र एलआइसी (नेपाल) लिमिटेड रहेका छन् ।
यसैगरी, निर्जीवन बिमातर्फ आइजिआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर, सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् । यस्तै, लघुबिमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत भएको छ ।
प्राधिकरणबाट इजाजतपत्र लिएका जीवन बिमा कम्पनी १४ वटा, निर्जीवन बिमा कम्पनी १४ वटा, लघु बिमा कम्पनी सातवटा र पुनर्बिमा कम्पनी दुईवटा गरी जम्मा ३७ वटा बिमा कम्पनी सञ्चालनमा रहेका छन् ।