बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का प्रमुख तारिक रहमानले क्रिसमसमा दिएको एक मन्तव्यको अहिले निकै चर्चा भइरहेको छ । २५ डिसेम्बरमा ढाकाको पूर्वी भागमा अवस्थित ‘३०० फिट रोड’ क्षेत्रमा आफूलाई स्वागत गर्न भेला भएका उत्साही समर्थकलाई सम्बोधन गर्दै रहमानले आफू जनतामाझ फर्किएको र देशका लागि आफूसँग योजना रहेको बताउँदै भने ‘मसँग एउटा योजना छ’ । उनको यस भाषणलाई बंगलादेशका केही समाचार पोर्टलले अमेरिकी अधिकारकर्मी मार्टिन लुथर किङ, जुनियरको प्रसिद्ध भाषण ‘आई ह्याभ अ ड्रिम’सँग तुलना गरे ।
शेख हसिनाको अवामी लिगका राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लागेको अवस्थामा हाल बिएनपी बंगलादेशको सबैभन्दा ठुलो राजनीतिक दल हो । सो दलका कार्यवाहक अध्यक्ष रहमान १७ वर्ष लामो निर्वासनपछि भर्खरै देश फर्किएका हुन् । आगामी चुनावपछि प्रधानमन्त्री बन्ने ठानिएका रहमान स्वदेश फर्किँदा उनको स्वागतमा हजारौँ समर्थक र पार्टी कार्यकर्ता जम्मा भएका थिए ।
२५ डिसेम्बरको भाषण रहमानले ‘प्रिय बंगलादेश’ भन्ने शब्दबाट सुरु गरेका थिए । भाषणमा उनले समावेशी बंगलादेशको कुरा गरे । अर्थतन्त्र सुधारमाथि जोड दिए । र, देशमा शान्ति, सुव्यवस्था र स्थिरता ल्याउने वाचा गरे । रहमानको सो भाषण तुरुन्तै बंगलादेशका धेरैतिर प्रतिध्वनित भयो । यस भाषणमार्फत बंगलादेशको राजनीतिमा रहमानको विवादास्पद विगत थोरै भए पनि चोखिएको केहीले औँल्याएका छन् ।
आमा जियाको शासनमा बंगलादेशी राजनीतिको ‘डार्क प्रिन्स’ मानिने रहमानको कार्यशैलीप्रति अहिले धेरैको चासो छ
बंगलादेशमा आगामी १२ फेब्रुअरीमा आमनिर्वाचन हुने मिति तोकिएको छ । भावी सत्तारूढ दलका रूपमा हेरिएको बिएनपीले सामना गरिरहेको प्रमुख चुनौतीमा यसको आफ्नै पूर्वसहयोगी दल बंगलादेश जमात–ए–इस्लामीको उदयलाई हेरिएको छ । जमात र बिएनपीले सन् २००१ मा संयुक्त सरकार बनाएका थिए । त्यसपछिका चुनाव र राजनीतिक आन्दोलनमा दुई दल प्रायः सँगसँगै रहे । तर, यसपटक फेब्रुअरीको चुनावमा बिएनपीको प्रमुख प्रतिद्वन्द्वी बंगलादेशको सबैभन्दा ठुलो इस्लामवादी दल जमात–इस्लामी हुने देखिएको छ ।
उसो त बिएनपीको तुलनामा जमातको राजनीतिक शक्ति कम आँकिन्छ । तर, पछिल्लो समय केही महत्वपूर्ण विश्वविद्यालयका विद्यार्थी संगठनको चुनावमा जमातको विद्यार्थी शाखाले आश्चर्यजनक विजय हासिल गरेकाले उसको शक्ति कम आँक्न नहुने बताइँदै छ । बंगलादेशका ठुलामध्येका विश्वविद्यालय ढाका युनिर्भसिटी र जहानगीरनगर विश्वविद्यालयको विद्यार्थी चुनावमा बिएनपीको विद्यार्थी एकाइ जमातसँग नराम्ररी हा¥यो । यी हारले बिएनपीसमेत झस्केको देखिन्छ ।
हुन पनि बंगलादेशका ४० प्रतिशत मतदाता युवा छन् । जुलाई २०२४ को आन्दोलनमा प्रमुख भूमिका खेलेको यस वर्गलाई जमात र नवगठित राष्ट्रिय नागरिक पार्टी (एनसिपी)ले विशेष प्राथमिकता दिइरहेका छन् । जुलाई विद्रोहबाट उदाएका विद्यार्थी नेताले गठन गरेको एनसिपीले मात्र होइन, जमातले पनि आफ्ना मनोनीत उम्मेदवारमा ठुलो संख्यामा युवालाई राखेको छ । तर, पुरानो पार्टी भएकाले बिएनपीलाई भने युवा उम्मेदवार बनाउन त्यति सहज छैन ।
विशेषतः पार्टी संगठनमा लामो समय काम गरेका मानिसलाई बेवास्ता गर्दा तल्लो तहमा असन्तुष्टि बढ्दै जाने डर पनि छ । यसैले बिएनपीका टिकट पाउनेहरूमा धेरै पार्टीका पुराना नेता छन् । यसले पछिल्लो विद्रोहपछि प्रभावशाली मतदाता समूह बनेको युवा मतदातालाई आकर्षित गर्न गाह्रो हुन सक्छ । तारिक रहमानलाई हसिनाको शासनकालमा ‘भगौडा’ घोषित गरिएको थियो । त्यस अवधिमा उनीविरुद्ध भ्रष्टाचार र हत्या प्रयासलगायत एक दर्जनभन्दा बढी मुद्दा लागेको थियो ।
उनीमाथि लागेको सबैभन्दा गम्भीर मुद्दा अगस्ट २१, २००४ मा, ढाकाको बंगबन्धु एभिन्युमा अवामी लिगद्वारा आयोजित आतंकवादविरोधी ¥यालीमा १३ वटा ग्रेनेड प्रहारसँग सम्बन्धित हो । १८ जना घटनास्थलमै मारिएको घटनामा मर्नेको संख्या बढेर २४ पुगेको थियो । भाषण गर्न गएकी शेख हसिनासहित ५०० भन्दा बढी घाइते भएका थिए ।
आक्रमणमा तारिक रहमानको समेत संलग्नता रहेको बताउँदै अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो । अदालतले सो फैसला गर्दा उनकै आमा खालिदा जिया देशकी प्रधानमन्त्री थिइन् । तर, हसिना सत्ताच्युत भएपछि यसै वर्ष ४ सेप्टेम्बरमा बंगलादेशको सर्वोच्च अदालतले सन् २००४ को ग्रेनेड आक्रमण मुद्दामा रहमान र अन्य सबै अभियुक्तलाई निर्दोष ठहर गरिदियो । त्यसपछि नै उनको स्वदेश फिर्तीको बाटो खुलेको थियो ।
जयाको त्यस शासन अवधिमा रहमानलाई बंगलादेशी राजनीतिको ‘डार्क प्रिन्स’ नै भनिन्थ्यो । यस्तो अँध्यारो विगत भएका कारण अहिले रहमानमाथि धेरैको नजर छ । मुख्यतः उनले विगतको छवि संग्ल्याउने व्यवहार गर्छन् वा गर्दैनन् र नयाँ बंगलादेश निर्माणमा कस्तो योगदान गर्लान् भन्ने धेरैको चासो छ । यस्तोमा क्रिसमस डेमा रहमानले दिएको भाषण एक सकारात्मक सन्देशका रूपमा आएको छ ।
(दुई दशकदेखि पत्रकारिता गरिरहेका हल्दर विकास, धर्म, जाति र राजनीतिबारे कलम चलाउँछन्) द प्रिन्टबाट