आइतबार : १० बजेसम्मको १० मुख्य खबर

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

एमालेले भोलि बन्द सूची बुझाउने
एमाले केन्द्रीय सचिवालय बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची भोलि सोमबार बुझाउने निर्णय गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्दै एमालेका सचिव महेश बस्नेतले यस्तो बताएका हुन् ।

टेरामक्स प्रकरणः सर्वोच्चबाट भएका दुई फैसला झिकाउने र विज्ञ बुझ्ने आदेश
तत्कालीन मन्त्री मोहनबहादुर बस्नेतसमेत प्रतिवादी रहेको टेरामक्ससम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दुईबुँदे आदेश दिएको छ। आइतबार विशेषले ३ अर्ब रुपैयाँभन्दा बढीको हानि–नोक्सानी दाबी गरिएको यस मुद्दामा सर्वोच्चको एक फैसलासमेत मगाउने आदेश गरेको हो । 

जसपा नेपाल र लोसपा नेपाल पार्टी एकीकरण
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच एकीकरण भएको छ। जसपा नेपाल र लोसपा नेपालको अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा आइतबार बसेको संयुक्त बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो। 

बिपी राजमार्ग पुनर्निर्माणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु, एकजना घाइते 
बिपी राजमार्ग पुनर्निर्माणको क्रममा फाउन्डेसन पर्खाल निर्माणको लागि जग लगाउने क्रममा माथिबाट ढिस्को खसेर पुरिँदा एक मजदुरको मृत्यु भएको छ भने एकजना सामन्य घाइते भएका छन्। राजमार्गअन्तर्गत चार सय बेँसी–डलाबेँसी खण्डअन्तर्गत रोशी गाउँपालिका–८, स्याउली बजारमा पुनर्निमाण क्रममा ढिस्कोले पुरिएर घाइते भएका दुईमध्ये एकको मृत्यु भएको हो। 

पुस १९ देखि माघ १८ सम्म अस्थायी मतदाता नामावली संकलन गरिने
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता संकलन सुरु गर्ने भएको छ । आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ३० तथा अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ बमोजिम आयोगबाट अस्थायी मतदाता नामावली संकलन कार्यक्रम स्वीकृत गरेको हो ।  

नेप्से ४७.५५ अंकले बढ्यो
नेप्से आज दोहोरो अंकले बढेको छ । आइतबार नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ स्क्रिप्सको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २३८ वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो।

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
जेन–जी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण अर्को साता अर्थात् पुस २३ गते पोखरामा आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै गत भदौ २९ गते प्रभावित अवार्डको नयाँ मिति तय गरेको हो । 

कुलमान घिसिङको आह्वान– वैकल्पिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्छ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन शाहबिच नयाँ समीकरण बनिरहँदा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक राजनीतिक शक्तिहरूबिचको ध्रुवीकरणमा जोड दिएका छन् ।

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ
क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार फरार अवस्थामा रहेका उनलाई परिसरको टोलीले काठमाडौंबाटै नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने सञ्चालक ७५ वर्षीय चन मन चियाङ हुन् ।

हेटौँडाको सडक विस्तार विवाद आइतबार पनि हेर्न नभ्याइनेमा
हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आइतबार पनि  ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइ तय भएको रिट आइतबार पनि हेर्न नभ्याइनेमा परेको हो ।
 

सुझावित समाचार