करिब नौ महिनादेखि स–साना तीन छोरी, श्रीमतीसहित त्रिपालमुनि बस्दै आएका लहान नगरपालिका–१५, बानोगाउँका श्याम सदायको परिवारका लागि निर्माण सुरु भएको २४ घण्टा नबित्दै जस्ताले छाएको अस्थायी घर निर्माण भएको छ।
गत वैशाखमा आएको हावाहुरीले ओत लाग्ने फुसको झुपडी भत्किएर ढलेपछि त्रिपालमुनि बस्दै आएका सदाय परिवारका लागि शनिबार दिउँसोदेखि काठ, बाँस ठड्याएर जस्ता हालिएको अस्थायी टहराे निर्माण सुरु भएको थियो। नगर प्रहरीको समेत सहयोगमा स्थानीय युवा र १० जना मजदुर परिचालन गरी बनाइएको दुई कोठाको अस्थायी घरमा तत्काललाई ओत लाग्न सकिने गरी निर्माण गरेको नगरप्रमुख महेद्रप्रसाद चौधरीले बताए।
‘तत्काल अस्थायी घर बनाएको भए पनि केही दिनमै पक्की घर निर्माणका लागि पहल थालिने छ,’ उनले भने। स्थानीय गरिब विपन्नलाई न्यानो सिरक बाँड्न शनिबार बानोगाउँ पुगेर उनले अस्थायी घर निर्माणको थालनी गरेको बताए।
स्थानीय खोलामा गिट्टी चालेर बिक्री गरी जीविका चलाउँदै आएका सदायले नगरपालिकाको अगुवाइमा अस्थायी भए पनि घर निर्माण भएकोमा खुसी व्यक्त गरे। ‘मजदुरी गरेर आफूसहित पाँचजनाको परिवारका लागि दैनिक खर्च जुटाउन नै समस्या हुन्थ्यो,’ उनले भने, ‘नगरपालिकाले ओत लाग्ने घर बनाइदिएपछि चिसोमा झेल्दै आएको कष्ट हट्ने भयो।’